आसन्न भारतको लोकसभा निर्वाचनमा भारतीय राजनीतिका केही ठूला खेलाडीले चुनाव नलड्ने घोषणा गरेका छन् । राष्ट्रवादी कांग्रेसका प्रमुख शरद पवार, लोक जनशक्ति पार्टीका रामविलाश पासवान, वर्तमान विदेशमन्त्री सुषमा स्वराज, उमा भारतीले चुनाव नलड्ने बताएका छन् । यसैगरी भारतीय जनता पार्टीका नेताहरु लालकृष्ण आडवाणी र मुरलीमनोहर जोशी, कांग्रेस महासचिव केसी वेणुुगोपाल, राष्ट्रिय जनता दल प्रमुख लालु यादवले पनि चुनाव लड्ने सम्भावना निकै कम छ । महाराष्ट्रका पूर्व मुख्यमन्त्री अशोक चौहान र कांग्रेस महासचिव प्रियंका गान्धीले पनि चुनावमा भाग नलिने सम्भावना रहेको बताइएको छ ।
शरद पवार
शरद पवार पहिलो पटक १९६७ मा महाराष्ट्र विधानसभामा निर्वाचित भएका थिए । तीन पटक महाराष्ट्रको मुख्यमन्त्री बनेका उनले केन्द्र सरकारको रक्षा तथा कृषि विभाग जस्तो महत्वपूर्ण मन्त्रालय सम्हालिसकेका छन् । उनी १४ पटक लोकसभा चुनाव लडिसकेका छन् । १९९९ मा कांग्रेस आईबाट अलग भएर राष्ट्रबादी कांग्रेस स्थापना गरेका उनले २००९ मा लोकसभा निर्वाचनमा आफूले लड्दै आएको सीट छोरी सुप्रिया सुलेका लागि छाडेका थिए । तर यसपटक चुनाव नलड्ने बताएका छन् । यसपटक उनकी छोरी सुप्रिया र नाती पार्थ पवार चुनाव लड्दैछन् । नाती पार्थ अजीत पवारका छोरा हुन् । नयाँ पीढीलार्ई राजनीतिमा ल्याउने प्रयासमा आफूले चुनाव नलड्ने उनले बताएका छन् ।
सुषमा स्वराज
वर्तमान विदेशमन्त्री सुषमा स्वराजले पहिलो पटक १९७७ मा हरियाणा विधानसभामा चुनाव जितेकी थिइन् । तीन पटक विधायक रहेकी उनी चार पटक लोकसभा सदस्य बनिन् । तीन पटक राज्यसभा सदस्य रहेका बेला उनले केन्द्र सरकारको मन्त्री भएर काम गरिन् । दिल्लीको पहिलो महिला मुख्यमन्त्रीको इतिहास बनाएकी सुषमा हरियाणा सरकारमा २५ वर्षको उमेरमै मन्त्री बनेर इतिहास रचेकी थिइन् । सुषमा ६ राज्य हरियाणा, दिल्ली, कर्नाटक, उत्तर प्रदेश, उत्तराखण्ड र मध्यप्रदेशको चुनावी राजनीतिमा सक्रिय छिन् । चिकित्सकको सल्लाहअनुसार उनी राजनीतिबाट टाढा हुन लागेकी हुन् । चिकित्सकले बढी दौड धुप नगर्न भनेका छन् भने धूलोबाट बँच्न पनि आग्रह गरेका छन् । चुनाव नलडेपनि राजनीतिमा भने उनी सक्रिय रहने छिन् ।
रामविलास पासवान
पासवान १९६९ मा पहिलोपटक बिधायक बनेका थिए । १९७७ मा लोकसभामा निर्वाचित भएर सांसद भए । आठ पटक लोकसभाको सांसद तथा एकपटक राज्य सभाको सांसद भइसकेका छन् । उनले कहिले यूपीए तथा कहीले एनडीए सरकारको मन्त्री भएर पनि काम गरे । लोक जनशक्ति पार्टीका संस्थापकसमेत रहेका पासवान ५० वर्षदेखि केन्द्रीय राजनीतिमा सक्रिय छन् । पासवानले जनवरीमै यसपटक हुने निर्वाचन नलड्ने घोषणा गरे पनि कारण भने खुलाएका छैनन् ।
उमा भारती
उमा भारती १९८९ मा पहिलो पटक लोकसभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनी अटलविहारी बाजपेयी र नरेन्द्र मोदी सरकारको मन्त्री बनिन् । मध्यप्रदेशको मुख्यमन्त्री समेत भएकी उमा २०१४ मा खजुराहोबाट लोकसभामा निर्वाचित भएकी थिइन् । उमा भारती राम जन्मभूमी आन्दोलनको प्रमुख नेता पनि हुन् । मध्यप्रदेशको मुख्यमन्त्री रहेका बेला गिरफ्तारी वारेन्ट जारी भएपछि उनले पदबाट राजीनामा दिएकी थिइन् । भाजपाका वरिष्ठ नेताहरुसँगको विवाद चर्कदै गएपछि उनलाई पार्टीबाट निलम्बनसमेत गरिएको थियो । तर २०१४ मा उनी पार्टीमा फर्किइन र केन्द्रीय मन्त्री समेत हुन सफल भइन् । उमा भारतीले अब चुनाव नलड्ने बरु भगवान राम र गंगा नदीका लागि काम गर्ने घोषणा गरेकी छिन् ।
केसी बेणुगोपाल
केसी वेणुगोपाल कांग्रेसका महासचिव पनि हुन् । उनी १९९६ मा केरलाबाट विधानसभामा निर्वाचित भएका थिए । त्यहाँ मन्त्री भएर पनि काम गरे । नागरिक उड्डयेन राज्य मन्त्री रहेका बेला २०१३ मा वेणुगोपालले एयर इन्डियाको टिकट घोटाला पत्ता लगाएका थिए । उनले पार्टी संगठनको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नका लागि चुनाव नलड्ने बताएका छन् ।
लालू यादव
१९७७ मा छपराबाट लोकसभाको निर्वाचन जितेर लालूप्रसाद यादव सांसद् भएका थिए । १९९० देखि १९९७ सम्म विहारको मुख्यमन्त्री रहे । यूपीए सरकारमा उनी २००४देखि २००९ सम्म रेल मन्त्री बने । लालूप्रसाद यादब भाषणका कारण चर्चामा आउने नेता हुन् । लालू अहिले चारा घोटाला काण्डमा सजाय काटी रहेकाले उनी चुनावी मैदानमा उत्रने छैनन् ।
लालकृष्ण आडवाणी
उनी भाजपाका सबैभन्दा पाका नेता हुन् । सात पटक उपप्रधानमन्त्री भइसकेका छन् । मोरारजी देसाईको सरकारमा सूचना तथा अटलबिहारी बाजपेयीको पालामा गृहमन्त्री भएका थिए । भाजपा गठन हुनुभन्दा पहिला जनसंघ तथा जनता पार्टीका सदस्य थिए । उनी राम मन्दिर आन्दोलनको प्रम्ख नेता हुन् । २००९ को लोकसभा निर्वाचनमा भाजपाले आडवाणीलाई प्रधानमन्त्रीका रुपमा अघि सारेको थियो तर त्यतिबेला कांग्रेस आईले सरकार बनाउन सफल भएको थियो । उनी अहिले ९१ वर्षका भएका छन् । उमेरकै कारण चुनाव नलड्ने मनस्थीतिमा पुगेका हुन् ।
मुरली मनोहर जोशी
भाजपा अघि उनी जनसंघका नेता हुन् । पहिलो पटक १९७७ मा लोकसभा निर्वाचनका लागि चुनाव जितेका थिए । वाजपेयी सरकारमा उनले महत्वपूर्ण मन्त्रीको रुपमा काम गरेका थिए । राममन्दिर आन्दोलनको महत्वपूर्ण भूमिका निर्वाह गरेका जोशीले २०१४ मा नरेन्द्र मोदीका लागि बनारसको सिट छाडेर आफूले कानपुरबाट चुनाव जितेका थिए । उनी पनि ८५ वर्षका भएकाले चुनाव लड्ने सम्भावना कम छ । तर भाजपाले ७५ वर्ष माथिका नेताहरुलाई टिकट दिने बताएकाले जोशी कानपुरबाट चुनाव लड्ने सम्भावना पनि रहेको जनाइएको छ ।
प्रियंका गान्धी
प्रियंका गान्धी पछिल्लो समय रायबरेली र अमेठी लोकसभा निर्वाचनको चुनाव प्रचार प्रसारमा छिन् । उनी आमा सोनिया र दाजु राहुलका लागि व्यस्त छिन् । उनी आधिकारिक रुपमा भारतीय कांग्रेसको राजनीतिमा यसै वर्षमात्र प्रवेश गरेकी हुन् । कांग्रेसको महासचिब रहेकी प्रियंकालाई अहिले पूर्वी उत्तर प्रदेशको जिम्मेवारी दिइएको छ । उनले अहिलेसम्म कुनै पनि चुनाव लडेकी छैनन् । राहुल गान्धीले यसै वर्ष उनलाई महासचिव बनाएकाले उत्तर प्रदेशको कुनै सिटमा चुनाव लड्ने आंकलन भने गरिएको छ ।
अशोक चौहान
महाराष्ट्रका पूर्व मुख्यमन्त्री अशोक चौहान आमचुनाव नलड्ने सम्भावना धेरै रहेको बताइन्छ । उनको ठाउँमा श्रीमती अमिता उम्मेदवार हुने आँंकलन गरिएको छ । यसैगरी केन्द्रीय मन्त्री मेनका गान्धीले आफ्नो सिट पीलीभीत छाड्ने सक्ने बताएकी छिन् । उनले त्यस ठाउँमा छोरा बरुण गान्धीलाई उठाउने तयारी गरेकी छिन् । मेनका हरियाणाको करनाल सिटमा चुनाव लड्ने बताइएको छ ।
तमिलनाडुमा ठूला नेता छैनन्
दशकौं पछि तमिलनाडुमा ठूला चेहरा मैदानमा हुने छैनन् । तमिलनाडुको अन्नाद्रमुककी जयललिता र द्रमुकका करुणानिधिको निधन भएकाले ठूला अनुहार नदेखिने भएको हो । जयललिताको २०१६ तथा करुणानिधिको २०१८ मा निधन भएको थियो ।
‘द्रविड योद्धा’को रुपमा पहिचान बनाएका करुणानिधिले १९५७ मा पहिलोपटक विधानसभा निर्वाचन लडेका थिए । उनी १३ पटक विधायक बने । ६१ वर्षको राजनीतिक करिअरमा उनी कहिल्यै पनि चुनाव नहार्ने नेतामा पर्छन् । १९६९ मा पहिलो पटक मुख्यमन्त्री बनेका थिए । त्यसपछि उनी पाँच पटक तमिलनाडुकोे मुख्यमन्त्री बने । तमिलनाडुमा पहिलो पटक गैरकांग्रेस सरकार बनाएका थिए ।
यसैगरी तमिलनाडु मै ‘अम्मा’को रुपमा चिनिने जयललिताले १९८२ मा राजनीतिमा पाइला राखेकी थिइन् । १९९१ मा पहिलोपटक मुख्यमन्त्री बन्न सफल भइन् । यसैगरी उनी ६ पटक मुख्यमन्त्री बन्न सफल भइन् । पछिल्लो लोकसभा निर्वाचनमा जयललिताको नेतृत्वमा अन्नद्रमुकले राज्यका ३९ मध्य ३७ सिटमा जित दर्ता गरेको थियो । दुई दिग्गज नेताको अनुपस्थिति पछि अन्नाद्रमुकले भाजपासँग गठबन्धन गरेको छ भने द्रमुकले कांग्रेससँग गठबन्धन गरेको छ ।