न्यूजिल्याण्डको क्राइस्ट चर्चस्थित दुईवटा मस्जिदमा आक्रमण गरी ४९ जनाको हत्यामा संलग्न रहेको आरोप लागेका एक व्यक्तिलाई अदालतमा उपस्थित गराइएको छ।अस्ट्रेलियाका नागरिक २८ वर्षीय ब्रेन्टन ट्यारेन्टलाई न्यूजिल्यान्डको पुलिसले हत्याको आरोपमा अदालतमा उपस्थित गराएको हो।
उनीमाथि थप अभियोग लगाउने विषयमा पनि अनुसन्धान भइरहेको छ।न्यूजिल्याण्डका प्रधानमन्त्री जेसिन्डा अर्डनले पक्राउ परेका अभियुक्तले घटना गराउन पाँच वटा बन्दुकको प्रयोग गरेको बताएका छन्। ती व्यक्तिसँग बन्दुकको लाइसेन्ससमेत रहेको बताइएको छ।प्रधानमन्त्री अर्डनले बन्दुक राख्नेसम्बन्धी कानुनसमेत परिवर्तन गर्ने बताए। उनले हमला सुनियोजित रुपमा भएको दाबीसमेत गरे।
अन्धाधुन्ध गोली प्रहारको घटनामा संलग्न भएको आशंकाका तीन जना पक्राउ परेका छन्।तर पक्राउ परेका अन्य दुई जनामाथि भने अनुसन्धान भइरहेको छ। उनीहरुको नाम सार्वजनिक गरिएको छैन।
यसअघि उनीहरु कुनै पनि आपराधिक घटनामा संलग्न भने नरहेको देखिएको प्रहरीले जनाएको छ।घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका अन्य एक हतियारधारी व्यक्तिलाई भने प्रहरीले रिहा गरेको छ।उनको साथबाट फेला परेको हतियार प्रहरीलाई सहयोग गर्न प्रयोग भएको पुष्टि भएपछि उनलाई रिहा गरिएको हो।
यसैबीच न्यूजिन्याड सरकारले आक्रमणको निन्दा र शोक व्यक्त गर्न आज राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ।सरकारले शहरमा हुने सबै खेलकुद र मनोरन्जनका कार्यक्रमसमेत रद्द गरेको छ।