अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा आपतकाल लागू गर्ने आफ्नो निर्णयको विपक्षमा कंग्रेस जाने भएपछि भिटो प्रयोग गरेका छन्।
राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा सीमा क्षेत्रमा पर्खाल लगाउने आश्वासन दिए पनि त्यस विषयमा सहमति जुट्न नसकेपछि आपतकाल लगाउने घोषणा गरेका थिए। तर, राष्ट्रपति ट्रम्पको आपतकालको निर्णयको विपक्षमा कंग्रेसको प्रस्तावमा ट्रम्पले भिटो प्रयोग गरेका हुन्। यसको अर्थ अब मेक्सिकोसँगको सीमा क्षेत्रमा आपतकाल लागू हुनेछ। ट्रम्पले सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि आपतलकाल लगाउने निर्णयको विरोधमा ल्याएको प्रस्ताव बिहीबार कंग्रेसबाट पारित भएको थियो।
यो प्रस्तावको पक्षमा स्वयम् ट्रम्पको दल रिपब्लिकनका १२ सांसद पनि थिए। ट्रम्पले यसमा भिटो प्रयोग गरेर सीमा पर्खालका लागि आफ्नो प्रतिबद्धता स्पष्ट पारेका छन्। राष्ट्रपति ट्रम्पको भिटो रद्द गर्नका लागि कंग्रेसको दुवै सदनमा अब दुई तिहाई मत चाहिन्छ, तर यो सम्भव नहुने बताइएको छ।
ट्रम्पले सन् २०१७ मा सत्ता सम्हाले यता भिटो प्रयोग गरेको यो पहिलो पटक हो।भिटो प्रयोग गरेपछि उहाँले राष्ट्रपतिका रुपमा, देशको सुरक्षा आफ्नो सर्वोच्च जिम्मेवारी भएको बताएका छन्।
कानुन कार्यान्वयन निकायका अधिकारी, होमल्याण्ड सेक्युरिटी मन्त्री क्रिस्टजेन निएलसन, उपराष्ट्रपति माइक पेन्स, महान्यायाधीवक्ता विलियम बारसहितको उपस्थितिमा ट्रम्पले भिटोमा हस्ताक्षर गरे। मेक्सिकोसँगको सीमा क्षेत्रबाट अवैध रुपमा आप्रवासी प्रवेश गर्ने गरेको र यसले देशको सुरक्षामा जोखिम उत्पन्न भएको भन्दै ट्रम्पले सीमा क्षेत्रमा पर्खाल बनाउनुपर्ने बताउँदै आएका छन्।