भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा चुनावलाई लक्षित गर्दै भारतीय जनता पार्टी (बिजेपी) को अभियान ‘म पनि चौकीदार’ सुरु गरेका छन् । यसैक्रममा मोदीले आफ्नो ट्वीटर अकाउन्टमा नामअगाडि चौकीदार जोडका छन् । यसअघि शनिबार यो अभियानको भिडियो पनि सार्वजनिक गरिएको थियो ।
मोदीले भिडियो तथा ट्वीटमा भनेका छन्, ‘तपाईंको यो चौकीदार राष्ट्रको सेवामा मजबुतीका साथ खडा छ, तर म एक्लै छैन, भ्रष्टाचार, सामाजिक कुरीति विरुद्ध लडिरहेको हरेक मानिस चौकीदार हो ।हरेक मानिस भारतको प्रगतिका लागि कठिन परीश्रम गरिरहेको छ, उ चौकीदार हो, हरेक भारतीय भनिरहेका छन् म पनि चौकीदार ।’
मोदीका साथै बिजेपी अध्यक्ष अमित शाह, रेलमन्त्री पियुष गोयल, केन्द्रीय मन्त्री जेपी नड्डा, पीपी चौधरी, रमन सिंह, त्रिवेन्द्रसिंह रावत, पुनम महाजन लगायतका नेता तथा केन्द्रीय मन्त्रीहरुले आफ्नो ट्वीटरनामका अगाडि चौकीदार शब्द जोडेका छन् ।
तर कांग्रेस अध्यक्ष राहुल गान्धीले राफेल लडाकू विमान सम्झौतामा भएको अनियमितताबारे मोदीलाई ‘चौकीदार चोर’ भनेका छन् । यसविरुद्ध भारतीय मजदूर संघले आपत्ती जनाएको छ। गान्धीको टिप्पणीबाट देशभरका मजदूर दुःखी भएको उल्लेख गर्दै यस्ता नारा लगाउन बन्द नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी संघले दिएको छ ।