आसन्न लोकसभा निर्वाचनमा भारतीय कांग्रेसले २३ राज्यका ३५४ सिटमा एक्लै चुनाव लड्ने भएको छ । उत्तरप्रदेश पछि कांग्रेसले पश्चिम बंगालमा एक्लै चुनाव लड्ने निर्णय गरेको छ ।
गत डिसेम्बरमा भएको निर्वाचनमा मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा जित हात पारेपछि कांग्रेसको मनोबल बढेको हो । ४ महिना अघि चुनावका लागि गठबन्धन बनाउन लागि पर्ने भारतीय कांग्रेस अहिले गठबन्धन दलमा सिट बाँडफाँड गर्दा धेरै वा बराबरीको हैसियत खोजिरहेको छ ।
महाराष्ट्रमा एनसीपीसँग बढी सिट लिएको छ भने बिहारमा राष्ट्रिय जनता दलसँग बराबरी हैसियतमा लड्न चाहेको छ । तमिलनाडुमा द्रमुकसँग मात्रै थोरै सिटमा कांग्रेसले चित्त बुझाएको छ । ३९ मध्ये ८ सिटमा मात्रै कांग्रेसले उम्मेदवारी दिने छ ।
कांग्रेसले ७ वटा राज्यमा ठूला क्षेत्रीय दलसँग गठबन्धन बनाएको छ । उसले अघिल्लो निर्वाचनमा बिहार, जम्मू कश्मीर, आन्ध्र प्रदेशमा दोस्रो स्थानमा रहेर सिट लिएको थियो । तर अहिले कांग्रेसले बराबरी भाग खोजिरहेको छ । जसका कारण कांग्रेसले सिटमा तालमेल नमिले २३ राज्यमा एक्लै चुनाव लड्ने गरि तयारी पनि गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
कांग्रेस अध्यक्ष राहुल गान्धीले कर्नाटकमा चुनावी अभियान शुरु गरेका छन् । उनले कलुबर्गी क्षेत्रमा भएको चुनावी सभालाई सम्बोधन गरेका थिए । उक्त क्षेत्रबाट मल्लिकार्जुन खड्गे चुनाव लड्दै छन् । संवोधनका क्रममा गान्धीले मोदीले ५ सय र एक हजार दरका भारु नोट बन्द गरेको र देशको संविधान खत्तम बनाउन खोजेको आरोप लगाए ।