चीनले ५ वर्षमा १३ हजार मानिसलाई आतंकवादी भन्दै पक्राउ गरेको छ । सिन्जियाङ प्रान्तमा सन् २०१४ देखि गरेको आतंकवादविरोधी अभियानका क्रममा ती मानिसलाई पक्राउ गरिएको सोमबार सार्वजनिक चिनिया रिपोर्टमा उल्लेख गरिएको छ ।
रिपोर्टमा सरकारको प्रयासका कारण धार्मिक चरमपन्थी समाप्त भएको जनाएको छ । तर कस्ता खालका अपराध भएका छन् भन्नेबारे निकै थोरैमात्र उल्लेख गरिएको छ ।
सिन्जियाङका १ हजार ५ सय ८८ आतंकवादी समूहलाई कारवाही गरिएको र १२ हजार ९ सय ९५ आतंकवादीलाई पक्राउ गरिएको सरकारी दाबी छ । यसबीचमा २ हजार ५२ बिस्फोटक पदार्थ बरामद गरिनुका साथै ५ हजार गैरकानुनी धार्मिक क्रियाकलापमा संलग्न भएको आरोपमा ३० हजार मानिसलाई कारवाही गरिएको रिपोर्टमा उल्लेख छ । यस्तै, साढे ३ लाख धार्मिक प्रचारका सामग्री पनि जफत गरिएको छ ।
चीनको सुदूर उत्तरपश्चिमी क्षेत्र बाह्य मानिसका लागि बन्द छ । तर त्यहाँ पहिलो बसोबास गरेका बासिन्दा र विदेशमा रहेका अधिकारकर्मीहरुले मुस्लिम पहिचान भएकाहरुले सरकारी पक्षबाट कारवाही भोग्नुपरेको बताएका छन् । चीनले उइगुर र अन्य मुस्लिम आदिवासी समुदायका सदस्य गरी १० लाख मानिसलाई नजरबन्दमा भन्दै पश्चिमा मुलुकले आलोचना गर्दै आएका छन् । चीनले ती समुदायका मानिसलाई राखेको क्याम्पलाई चिनिया सरकारले व्यवसायिक तालिम केन्द्र भनी प्रचार गर्दै आएको छ भने क्याम्पमा रहनु ऐेच्छिक भन्दै आएको छ । सरकारले २ वर्षयता क्याम्प निर्माणलाई तीब्रता दिएको थियो ।