मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाककी पत्नी रोसमाह मन्सुरलाई ग्रामिण क्षेत्रमा रहेका विद्यालयमा जडान गरिएको सोलार पावर आयोजनामा भ्रष्टाचार गरेको आरोपमा मङ्गलबार पक्राउ गरिएको छ ।
पक्राउ पर्नु पहिले उहाँलाई सोलार पावर आयोजनामा उठेका भ्रष्टाचारका प्रश्नहरूबारे अनुसन्धानमा सहजीकरणका लागि सोधपुछ गर्नका लागि भनी बोलाइएको थियो । तर उनलाई पछि त्यहीबाट पक्राउ गरिएको थियो ।
उनलाई बुधबार नै क्वालालम्पुर अदालतमा उपस्थित गराइने मलेसियाको भ्रष्टाचारविरोधी निकायद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रोसमाह तथा उहाँका पूर्व विशेष सहयोगीलाई गत बर्षको नोभेम्बरमा एक कम्पनीलाई चार करोड ४८ लाख अमेरिकी डलर बराबरको ठेक्का करार गरेबापत १५ प्रतिशत कमिसन मागेको आरोप लगाइएको थियो ।
रोसमाहलाई उक्त कम्पनीका निर्देशकबाट घुससमेत लिएको आरोप लगाइएको थियो । उहाँका विशेष सहयोगी रिजाल मनसोरमाथि भ्रष्टाचार तथा कमिसन लिएको विभिन्न चार आरोप दर्ता गरिएको थियो । आरोपित दुवै जनाले आरोप निराधार रहेका जनाउँदै यसको खण्डन गर्दै आएका छन् ।
सोलार पावर आयोजनाबारे आरोप लाग्नु पहिले पूर्व प्रधानमन्त्रीकी पत्नी रोसमाहमाथि १६ लाख अमेरिकी डलर बराबर सम्पत्तीको शुद्धिकरण तथा कर छलीबारेका विभिन्न १७ मुद्दामाथि छानविन गरिसकिएको छ ।