भारतीय लोकसभा निर्वाचनअन्तर्गत आज भारतका २० राज्यमा चुनाव हुँदैछ । १८ प्रदेश सरकार र २ केन्द्र शासित राज्यमा चुनाव हुन लागेको हो । २० राज्यमा गरि ९१ सिटमा निर्वाचन हुने छ । त्यहाँ सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले २०१४ को निर्वाचनमा ३५ प्रतिशत सिटमा कब्जा जमाएको थियो । यसैगरी कांग्रेसले ८ प्रतिशत सिटमा जित हात पारेको थियो । राज्य र केन्द्रशासित प्रदेशका ५५ र अन्य राज्यका ३६सिटमा चुनाव हुँदैछ ।
उत्तर प्रदेश, महाराष्ट्र, छत्तीसगढ, विहार, असम, उत्तराखण्ड, अरुणाचल र जम्मू कश्मीरमा भाजपा र कांग्रेसको प्रभाव बलियो छ ।
यसैगरी अन्य क्षेत्रीय दलहरुको पकड रहेका राज्यमा आन्ध्रप्रदेश, तेलंगना, मेघालय, सिक्किम, मिजोरम, नागाल्याण्ड, लक्ष्यदीप, अंडमान निकोबार, उडिसा, पश्चिम बंगाल, मणिपुर र त्रिपुरा हुन् ।
९१ सिटमा भएको निर्वाचनको कुरा गर्ने हो भने सन् २००९ मा भाजपाले जम्मा ७ सिट जितेको थियो भने कांग्रेसको पोल्टामा ५५ सिट परेको थियो । तर २०१४ मा भारतमा मोदी लहर आएपछि अंकगणित पुरै बदलियो । भाजपाले ३२ सिट जित्दा कांग्रेस ७ सिटमा खुम्चियो । तेलुगुदेशम पार्टी (तेदेपा) ले १६ तथा तेलांगना राष्ट्र समिति (टीआरएस) ले ११ सिट जित्न सफल भयो । वाईएसआरसीपीले ९ सिट जित्दा तृणमूल कांग्रेसले २ तथा अन्यले १४ सिटमा बाजी मारेका थिए ।
लोकसभा निर्वाचनको घोषणा मार्च १० तारिखमा गरिएको थियो । कांग्रेस अध्यक्ष राहुल गान्धीले आजपल्टैदेखि चुनावी र्याली शुरु गरेका थिए भने प्रधानमन्त्री नरेन्द्र मोदीले २० मार्चदेखि अभियान शुरु गरे । चुनावी प्रचार प्रसारको अन्तिम दिन मंगलबारसम्म मोदीले ३० वटा र्याली गर्दा गान्धीले ३९ वटा र्याली पुर्याएका छन् । आज हुन लागेको निर्वाचनमध्ये सबैभन्दा चर्चा तेलंगानाको चेवेल्ला सिटमा रहेको छ । उक्त सिटमा उठेका उम्मेदवारको सम्पत्तिका कारण पनि बढी चर्चा भएको छ ।
वाईएसआरसीपीका विश्वेश्वर रेड्डीको सम्पत्ति ८९५ करोड बताइएको छ भने प्रेम जनता पार्टीका उम्मदवार प्रेम कुमारको सम्पत्ति ५०० करोड उल्लेख गरिएको छ । पहिलो चरणको निर्वाचनमा ४४ जना उद्योगपति र ब्यापारी प्रतिस्पर्धामा छन् । ९१ सिटका लागि १८२ जना प्रमुख उम्मेदवार चुनावी मैदानमा छन् । आन्ध्रप्रदेशमा तेदेपाले ११ र वाईएसआरसीले १० जना उद्योगपति तथा व्यापारीलाई उम्मेदवार बनाएका छन् । ३८ सिटमा नेताका पारिवारीक सदस्यहरु उम्मेदवार छन् । जसमध्ये भाजपाले ५ र कांग्रेसले ४ वटा टिक परिवारवादको आधारमा दिएका छन् ।