अष्ट्रेलियामा रहेका नेपाली मुलका विभिन्न विषयका विज्ञहरुको चौथो सम्मेलन ‘स्कील, नलेज एण्ड इन्नोभेसन’ यही अप्रिल १३ मा एडिलेडमा हुने भएको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आयोजनामा हुने सम्मेलनमा अष्ट्रेलियामा रहेका विभिन्न विषयका नेपाली विज्ञको सहभागीता रहने सम्मेलनका लजेस्टिक संयोजक राजु उपाध्यायले बताए ।
दक्षिण अष्ट्रेलिया सरकारका उद्योगमन्त्री डेभिड पिसोनीको प्रमुख आतिथ्यमा हुने सम्मेलनमा विज्ञहरुले अध्ययन र कामको सिलसिलामा प्राप्त गरेका ज्ञानलाई नेपालको सन्दर्भ र अष्ट्रेलिया रहेका नेपालीको हितमा कसरी उपयोग गर्न सकिन्छ भनेर कार्यपत्रहरु पेश गर्नेछन् ।
युनिभर्सिटी अफ साउथ अष्ट्रेलियामा हुने सम्मेलनमा विविध क्षेत्रका ९ विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् । लामो समयदेखि अष्ट्रेलियामा इन्जिनियरिङ क्षेत्रमा कार्यरत संयोजक उपाध्यायका अनुसार बिदेशमा बसेर हासिल गरेको ज्ञान नेपालको विकास र समृद्धिमा कसरी प्रयोग गर्न सकिन्छ भनेर प्रस्तुत कार्यपत्रमाथि छलफल गरि निष्कर्ष निकालिनेछ । उक्त निष्कर्षलाई एनआरएनले नेपालका सम्बन्धित निकायमा हस्तान्तरण गर्नेछ ।
स्कील, नलेज एण्ड इन्नोभेसन (स्की) प्रोजेक्ट प्रवासी नेपालीहरुले आर्थिकका साथै सिकेको सीपसमेत नेपालमा लगेर देश विकासमा महत्वपूर्ण योगदान पु¥याउन सकिन्छ भन्ने भावनाबाट प्रेरित भइ सन् २०१३ बाट शुरु गरिएको हो । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले प्रवासबाट पैसामात्र नभइ पढेर प्राप्त गरेको विज्ञता ,सिप मातृभूमीलाई हस्तान्तरण गर्नुपर्छ भन्ने कुरालाई आत्मसात गर्दै सन् २०१३ मा स्की ट्रान्सफर टाक्सफोर्स गठन गरिसकेपछि सन् २०१४ मा सिड्नीमा, सन् २०१५ मा क्यानबेरामा र सन् २०१६ मा ब्रिसवेनमा सम्मेलन आयोजना भएको थियो । शनिबार एडिलेटमा हुने चौथो सम्मेलनमा ५० भन्दा बढी विज्ञ तथा व्यक्तित्व सहभागी हुने जनाइएको छ ।