फ्रान्सको राजधानी पेरिसमा रहेको ८५० वर्षभन्दा पुरानो चर्चमा आगलागी भएको छ । विश्व चर्चित नोट्र डाम क्याथेड्रल चर्च सोमबार रातिभर जलेर खरानी भएको छ ।
स्थानीय समय अनुसार साँझ ६ बजेर ५० मिनेट जाँदा (नेपाली समयअनुसार राति करिब ११ बजे) चर्चको छानोमा आगो सल्किएको थियो । १ घण्टाभित्रै आगो फैलिएर टावरसम्म पुग्यो । करिब ५ सय अग्नि नियन्त्रक आगो निभाउन खटिए पनि सम्भव भएन ।
चर्चमा जीर्णोद्धारको काम भइरहेको थियो र यही क्रममा आगालगी भएको हुन सक्ने अनुमान छ । आगोले चर्चको जुरो र छत खसेको छ । गएको वर्ष चर्चित क्याथोलिक चर्चको रक्षाका लागि सर्वसाधारणसँग आर्थिक सहयोगका लागि अपिल गरिएको थियो । निकै पुरानो भएका कारण यसको भवन जीर्ण थियो ।
यसैबीच फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले घटनास्थलको भ्रमण गरेका छन् । आगलागी भएको क्षेत्रको अवलोकनपछि राष्ट्रपति म्याक्रोनले चर्च पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भनेका छन्, ‘नोट्र–डाम हाम्रो इतिहास हो, हाम्रो साहित्य हो र हाम्रो मनोभावनाको भाग हो, हाम्रो सबै प्रमुख कार्यक्रममा जम्मा हुने थलो पनि हो । महामारी, युद्ध, स्वतन्त्रतासहित हाम्रो जीवनको केन्द्र विन्दु हो ।’
म्याक्रोनले अघि भनेका छन्, ‘नोट्र डाम जलिरहेको छ, र मलाई यसले दिएको निराशा थाहा छ । यसले सम्पूर्ण फ्रान्सेलीलाई निराश बनाएको छ । तर म आजको रात यो चर्च फेरि पहिलेको जस्तै बन्ने आश पनि सञ्चार गर्न चाहन्छु ।’ यसको पुनर्निर्माणका लागि आर्थिक सहयोग संकलनको अभियान पनि सुरु गर्ने तयारी भएको छ ।
पर्यटकीय केन्द्र नोट्र डाम
यो चर्च धार्मिकस्थल मात्रै होइन, विश्वकै एक प्रसिद्ध पर्यटकीय केन्द्र पनि हो । हरेक वर्ष विश्वभरका करिब १३ लाख पर्यटक यहाँ पुग्ने गरेका थिए । पेरिस पुग्नेहरु यहाँ नपुगी फर्कंदैनन् । नोट्र डामको अर्थ 'आवर लेडी' हो । यो मध्ययुगीन गोथिक वास्तुकलाको अनुपम नमुना मानिन्छ । यो चर्च फ्रान्सेली इतिहासको साक्षीसमेत हो ।
तस्बिरहरु : दी गार्डियन, न्यूयोर्क टाइम्स र अन्य एजेन्सी ।