खाडी राष्ट्र इराकले पनि पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपालमा भने चैत २८ गतेदेखि पब्जीमाथि रोक लगाइएको छ ।
पब्जीमाथिको प्रतिबन्धका लागि इराकको संस्कृतिसम्बन्धी संसदीय समितिले कानुनको मस्यौदा बनाइरहेको छ । त्यसमा पब्जीले कम उमेरका युवाको दिमाग बिगार्ने काम गरिरहेको र त्यसलाई बन्द गर्नुपर्ने जनाइएको छ ।
बग्दादमा पत्रकार सम्मेलन गर्दै सो समिति अध्यक्ष समिया गुलाबले पब्जी जस्ता खेलले बालबालिका र युवालाई कुलतमा पारेको जनाउँदै त्यसलाई रोक्न कानुनको मस्यौदा तयार पार्न लागेको एजेन्सीहरुले उल्लेख गरेका छन् । पब्जीकै कारण गत वर्ष इराकमा केही विवाहितको सम्बन्ध विच्छेद हुनुका साथै केहीले आत्महत्या गरेको समाचार सार्वजनिक भएको थियो ।
यता पब्जी मोबाइल डेभलपर्सको कार्यालयले भने यो खेल मनोरञ्जनका लागि मात्रै भएको जनाउँदै यसलाई स्वस्थ र जिम्मेवार ढंगले खेल्नुपर्ने जनाएको छ ।