आगलागीबाट सोमबार राति ध्वस्त बनेको नोट्र डेम गिर्जाघरको पुनर्निर्माणका लागि करोडौं युरो प्रदान गर्ने विभिन्न क्षेत्रबाट प्रतिबद्धता व्यक्त भएको एजेन्सीहरुले उल्लेख गरेका छन् ।
गिर्जाघरमा लागेको आगो भने करिब १५ घण्टापछि नियन्त्रणमा आएको थियो । ८५० वर्ष पुरानो गिर्जाघरको छानो आगलागीले खसेको छ । तर, अग्नि नियन्त्रकहरुले त्यसमा रहेको ढुंगाको संरचना र दुई टावर जोगाउन भने सफल भएका छन् ।
आगलागीको कारण खुलेको छैन । आगलागीको सम्भावित कारण खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् । यसको अनुसन्धानका लागि ५० विज्ञ खटिएको बताइन्छ । अन्य अधिकारीहरुले भने पुनर्निर्माणको काम भइरहेकाले आगलागी भएको हुनसक्ने अनुमान गरेका छन् ।
राष्ट्रपति इमानुएल म्याक्रोनले ऐतिहासिक गिर्जाघर पुनर्निर्माण तत्काल थाल्ने जनाएका छन् । विभिन्न कम्पनीहरुले निर्माणका लागि ६ सय मिलियन युरोको प्रतिबद्धता जनाइसकेका छन् ।
यसको निर्माणका लागि विश्वव्यापी रुपमा प्रतिबद्धता प्रकट भइरहेको छ । आगलागीबाट विभिन्न महत्त्वपूर्ण कला सामग्री जोगाउन अग्निनियन्त्रकहरु सफल भएको अधिकारीहरुले जनाएका छन् ।