भारतका ८ राज्यमा आएको हावाहुरी र असिनाले ३५ जनाको मृत्यु भएको छ। मंगलबार राति आएको हावाहुरीले विभिन्न राज्यमा ३५ जनाको मृत्यु, ४० भन्दा बढी घाइते र अर्बौंको धनमाल क्षति भएको विभिन्न सञ्चारमाध्यमले सरकारी अधिकारीलाई उद्धृत गर्दै जनाएका छन्।
आँधी तुफानसँगै ठूलो वर्षा र असिना परेकाले उद्दारमा समस्या भएको छ । राजस्थानमा ११, मध्यप्रदेशमा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुजरात, महाराष्ट्र, झारखण्ड, हिमाचल, हरियाणा र नयाँदिल्लीका छन् ।
ठूलो वर्षा र असिनासँगै परेको चट्याङले सर्वसाधारणको मृत्यु भएको हो । हावाहुरीले रूख, बिजुलीका पोल ढालेर क्षति पुर्याएको छ । सबैभन्दा बढी प्रभाव गुजरात, मध्यप्रदेश र राजस्थानमा परेको छ।
यी प्रदेशमा अझै ठूलो वर्षा हुने अनुमान त्यहाँको मौसम विभागले गरेको छ । यसका लागि जनतालाई सचेत हुन पनि आग्रह गरिएको छ ।