पेरूका पूर्वराष्ट्रपति एलन गार्सियाले आफैंमाथि गोली प्रहार गरी आत्महत्या गरेका छन् । त्यहाँको प्रहरी गिरफ्तारका लागि उनकै निवासमा पुगेको थियो । उनलाई भ्रष्टाचारको अभियोमा पक्राउ गर्न प्रही एलनको निवासमा पुगेको थियो ।
गोली प्रहारपछि उनलाई उपचारका लागि राजधानी लिमाको एक अस्पतालमा लगिएको बीबीसीले उल्लेख गरेको छ । उनको मृत्युको खबर पेरुका वर्तमान राष्ट्रपति मार्टिन विजकारले गरे । अस्पतालबाहिर एलनको समर्थकहरु जम्मा भएका थिए । उनीहरुलाई त्यहाँको प्रहरीले केहीबेर नियन्त्रणमा लिई रिहा गरेको थियो ।
गार्सियामाथि ब्राजिलको एक निर्माण कम्पनी ओदेब्रक्तसँग घूस लिएको आरोप थियो । उनीमाथि लागेको आरोप आफैंले खारेज गरेका थिए । यही आरोपकै कारण उनलाई पक्राउ गर्न प्रहरी अधिकारीहरु निवासमै पुगेका थिए ।
'जब प्रहरी त्यहाँ पुगे, गार्सिया कसैसँग फोनमा कुरा गर्दै आफ्नो कोठातर्फ लागे र भित्रबाट ढोका लागाए,' गृहमन्त्री कार्लोस मोरनले भने, 'केहीसमयपछि गोली चलेको आवाज आयो । प्रहरी ढोका फोडेर भित्र जाँदा गार्सिया कुर्सीमा पल्टिएका थिए । उनको टाउकोमा गोली लागेको थियो ।'
लगत्तै त्यहाँ रहेका प्रहरीले उनलाई अस्पताल पुर्याएका थिए । लिमाको केसिमिरो उलोओ अस्पताल पुर्याउँदासम्म पूर्वराष्ट्रपति गार्सियाको मृत्यु भइसकेको थियो ।
गार्सियाको मृत्युपछि राष्ट्रपति विजकारले ट्वीटमार्फत् उनको मृत्युले आफू मर्माहत भएको र परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । गार्सियाले सन् १९८५ देखि १९९० र २००६ देखि २०११ सम्म पेरुको राष्ट्रपतिको पद सम्हालेका थिए ।
अनुसन्धान अधिकारीहरुका अनुसार गार्सियाले अपने दोस्रो कार्यकालमा ओदेब्रक्तबाट घूस लिएका थिए । यो कम्पनी राजधानीमा मेट्रो लाइन निर्माणसँग सम्बन्धित थियो ।