भारतमा एक मतदाताले झुक्किएर गलत पार्टीलाई भोट हालेको भन्दै आफ्नो बायाँ हातको चोरी औंला काटेका छन् ।
मतदानअघि मतदाताको चोर औंलाको नङमा मसी लगाउने गरिन्छ । पवनकुमार आफूले बहुजन समाज पार्टीको चिह्न हात्तीमा भोट हाल्न चाहेको भए पनि धेरै चिह्न भएकाले झुक्किएर भाजपाको कमल चिह्नमा भोट गएको बताएका छन् ।
पवनले गलत पार्टीलाई भोट दिएको कारण अफशोच जनाउँदै औंला काटेको बताएका छन् । औंला काट्नेबित्तिकै उनलाई अस्पताल लगिएको थियो । उपचारपछि उनलाई घर पठाइएको बीबीसीले जनाएको छ ।
उत्तर प्रदेश बुलन्द सहरको कोतवाली क्षेत्र अब्दुल्लापुर हुलासनका २४ वर्षीय पवन कुमारले बिहीबार मत खसाल्न गाउँकै केन्द्र गएका थिए । मतदानको क्रममा हतारिँदै उनले बहुजन समाज पार्टीको चिह्न हात्तीको सट्टा भारतीय जनता पार्टीको चिह्न कमलको बटन दबाएका थिए । "म हात्ती चुनाव चिह्नमा मतदान गर्न चाहन्थेँ, तर मैले झुक्किएर फूलमा मत हालेँ," पवन कुमारले भने ।
उत्तर प्रदेशकी पूर्वमुख्यमन्त्री मायावती नेतृत्वको बहुजन समाज पार्टीको उक्त राज्यमा बलियो प्रभाव छ । यसपालिको चुनावमा मायावती र अर्का पूर्वमुख्यमन्त्री अखिलेश यादवको समाजवादी पार्टीबीच सत्तारूढ भाजपाविरूद्ध गठबन्धन बनेको छ ।
भारतमा सातौं चरणमा चुनाव भइरहेको छ, जहाँ मे २३ मा मतगणना हुँदै छ । झन्डै ९० करोड योग्य मतदाता रहेको भारतको चुनावलाई विश्वकै ठूलो चुनावका रुपमा हेरिन्छ ।