एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा सशस्त्र व्यक्तिको आक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।
शनिबार बिहान ११:४० बजे त्यहाँ विस्फोट भएको बीबीसीले जनाएको छ । त्यसपछि दिउँसो अबेरसम्म फाट्टफुट्ट गोली चलेको सुनियो । सरकारी पक्षले ६ घण्टापछि घटना नियन्त्रणमा आएको घोषणा गर्यो ।
मृत्यु हुनेमा ४ सर्वसाधारण र ३ प्रहरी अधिकारी छन् । ८ सर्वसाधारण पनि घाइते भएका छन् । मन्त्रालय स्रोतका अनुसार ३ सशस्त्र व्यक्ति आक्रमणमा संलग्न थिए । तीनमध्ये एकजना मन्त्रालयको भवनमा पस्न सफल भएको उनले बताए ।
उनका अनुसार दोस्रो व्यक्तिले मन्त्रालयको परिसरको पर्खालमा विस्फोट गराएको र तेस्रो व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको थियो । तालिबान र अफगान सरकारका प्रतिनिधिहरूबीच वार्ता विफल भएको एक दिनपछि यो घटना भएको हो । राजधानीको व्यस्त क्षेत्रमा भएको आक्रमणपछि सयौँ सर्वसाधारणलाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।
कहाँ छ मन्त्रालय ?
आक्रमण राष्ट्रपति निवास र ख्यातिप्राप्त होटलहरू भएको एउटा व्यस्त स्थाननजिकै भएको हो । उक्त क्षेत्रमा सेरेना होटल रहेको छ र त्यसलाई अतिसुरक्षित क्षेत्र मानिन्छ । उक्त होटलमा धेरै विदेशीहरू बस्ने गर्छन् ।
१८ तले सूचना मन्त्रालयको उक्त भवनलाई काबुलका अग्ला भवनमध्येको एक मानिन्छ । आक्रमण भएपछि भवनमा झन्डै २ हजार मानिस घण्टौँसम्म अलपत्र परेको बताइन्छ । अन्तत: उनीहरूलाई बाहिर निकालियो । महिनौँको शान्तिपश्चात् काबुलमा अहिले आक्रमण भएको हो ।
कसले गरायो आक्रमण ?
आक्रमणको जिम्मेवारी कसैले लिइसकेको छैन । तर, अमेरिका र तालिबानबीच अफगानिस्तानमा शान्तिप्रक्रिया सुरु गराउन थालिएको भनिएको वार्ताहरूबीच यो आक्रमण भएको छ ।
तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले आफ्नो सङ्गठन यो आक्रमणमा संलग्न भएको बताए । इस्लामिक स्टेट समूह अफगान शाखाले पनि शनिवारको आक्रमणबारे केही बोलेको छैन । यसअघि भएका आक्रमणहरूमा सो समूह संलग्न हुने गरेको थियो ।