चीनले बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरआई) को दोस्रो शिखर सम्मेलनमा सहभागी हुने नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीसहित ५ मुलुकका राष्ट्राध्यक्षलाई राजकीय सम्मान गर्ने भएको छ ।
नेपाल, चिली, मंगोलिया, पोर्चुगल र स्वीजरल्याण्डका राष्ट्रध्यक्षको भ्रमण राजकीय हुने चीनका विदेश प्रवक्ता लु काङलाई उद्धृत गर्दै एजेन्सीहरुले उल्लेख गरेका छन् ।
चिलीका राष्ट्रपति सिबास्टियन पिनेरा र मंगोलियाका राष्ट्रपति खाल्टमान बाटुल्गाले अप्रिल २४ देखि २८ सम्म चीनको भ्रमण गर्नेछन् ।
नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले अप्रिल २४ देखि मे २ सम्म र पोर्चुगलका राष्ट्रपति मार्सेलो रबेलो डि साउसाले अप्रिल २८ देखि मे २ सम्म तथा स्वीजरल्याण्डका राष्ट्रपति उली माउरेरले अप्रिल २३ देखि ३० सम्म राजकीय भ्रमण गर्ने जनाइएको छ ।
नेपालकी राष्ट्रपति भण्डारी बेइजिङमा हुने बागवानीसम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम तय गरिएको छ । पाँचै राष्ट्रध्यक्षलाई चीनका राष्ट्रपति सी जिनपिङले भ्रमणको निम्तो दिएका हुन् । सम्मेलन अप्रिल २५ मा सुरु हुनेछ ।