श्रीलंकामा आइतबार भएको शृंखलाबद्ध विस्फोटनमा मारिनेको संख्या २९० पुगेको छ ।
प्रहरीले २४ जनालाई गिरफ्तार गरे पनि सरकारले आक्रमणकारीको पहिचान गरेको छैन । आक्रमणमा ५ सय जना घाइते भएको र दर्जनौं विदेशी मारिएको बीबीसीले जनाएको छ ।
सुरक्षा निकायमाथि कारबाहीको माग
श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आक्रमणबारे प्राप्त पूर्वसूचनाका आधारमा सुरक्षा निकायले कारबाही अगाडि नबढाएको विषयमा छानबिन हुनुपर्ने बताएका छन् ।
टेलिभिजन सम्बोधनमा उनले उक्त आक्रमणबारे प्राप्त सूचनाबारे आफूलगायत अन्य मन्त्रीहरूलाई समेत जानकारी नदिइएको बताएका थिए ।
तर, उनले अबको प्राथमिकता दोषीलाई कारबाही गर्ने रहेको उल्लेख गरेका छन् । आक्रमणमा ३५ विदेशीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
सामाजिक सञ्जालमा रोक, लगाइएको कर्फ्यु हट्यो
घटना पछि श्रीलंकामा मिथ्या सूचना फैलिएको भन्दै सामाजिक सञ्जालको प्रयोगमा समेत रोक लगाइएको छ ।
श्रीलंकामा सरकारले लगाएको कर्फ्यु सोमबार बिहान ६ बजेबाट हटाइएको छ । यसअघि श्रीलंकाका एक मन्त्री हरिन फर्नानडोले नाम नखुलाईकन एउटा समूहले १० दिनअघि आक्रमण गर्न सक्ने सूचना दिए पनि सम्भावित घटनाबारे राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सरकारलाई जानकारी दिन नसकेको बताएका थिए ।