युक्रेनमा भएको राष्ट्रपति चुनावमा हाँस्य कलाकार भोलोदिभिर जेलेन्स्की भारी मतले विजयी भएका छन् । उनी ७३ प्रतिशत मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्कोले भने २५ प्रतिशत मतमात्र प्राप्त गरे ।
पोरोशेन्कोले आइतबार आफ्नो हार स्वीकार गर्दै नयाँ राष्ट्रपतिलाई सहयोग गर्ने बताएका छन् । ‘आगामी महिना म राष्ट्र प्रमुखको पदबाट बाहिरिदैछु, यो बहुसंख्यक युक्रेनी जनताको निर्णय हो, म यसलाई स्वीकार गर्छु, तर म राजनीति छाड्दिन, युक्रेनका लागि लडिरहनेछु,’ पेरोशेन्कोले भनेका छन् ।
तर, युक्रेनी निर्वाचन आयोगले भने परिणामको औपचारिक घोषणा गरेको छैन ।
नवनिर्वाचित जेलेन्स्कीले आफ्ना समर्थकहरुलाई टाउको निहुर्याउने अवस्था आउन नदिने बताएका छन् । उनले आफू औपचारिक रुपमा राष्ट्रपति भइनसकेपनि नागरिकका रुपमा सबै पूर्व सोभियत मुलुकहरुलाई जे पनि सम्भव छ भनेर देखाएको बताए ।
युक्रेनका राष्ट्रपतिको सुरक्षा, रक्षा र वैदेशिक मामिलाजस्ता विषयमा निकै ठूलो प्रभाव रहन्छ । युक्रेनमा भएको प्रदर्शनपछि रुसलाई समर्थन गर्ने राष्ट्रपतिले पद छोड्नु परेको थियो । अर्बपति पोरोसेन्को त्यसपछि राष्ट्रपति चुनिएका थिए ।
४१ वर्षीय जेलेन्स्की हास्य नाटक सर्वेन्ट अफ द पिपलका कारण चर्चित छन् । उक्त नाटकमा उनले भूमिका निर्वाह गरेको पात्र झुक्किएर युक्रेनका राष्ट्रपति बन्न पुग्छन्।
उक्त नाटककै नाममा रहेको राजनीतिक दलबाट उनी चुनाव लडेका थिए । राजनीतिमा कुनै किसिमको अनुभव नरहेको जेलेन्सकीको चुनावी अभियान ठोस राजनीतिक मुद्दाभन्दा पनि विपक्षी दलका उम्मेदवारमाथि उनको मतभेदमा केन्द्रित थियो ।