सम्पूर्ण विश्वमै खुशी मुलकको रुपमा छ भुटानको पहिचान। यो मुलुकले आफ्नो विकास जीडीपी (कूल गार्हस्थ उत्पादन) बाट होइन, जीएनएच (कूल राष्ट्रिय खुशी–ग्रस नेशनल हेप्पीनेस) बाट मापन गर्छ।
विदेशी पत्रकार पनि भुटान विश्वमै अनुपम छ भन्ने मान्छन्। वातावरणका हिसाबले अन्य देशलाई यसले पछाडि पारेको पनि छ। तर, के भुटान विश्वले मानेजस्तै खुशी देश हो त ? भुटानीहरु डिप्रेसन र मानसिक समस्याबाट मुक्त छन् त ?
भुटानको राजधानी थिम्पुस्थित नेशनल रिफरल अस्पतालको रेकर्ड हेर्दा यस्तो लाग्दैन। यो अस्पतालमा चिन्ता र डिप्रेसन आम मानसिक रोग पाइएको छ । भुटानको वार्षिक हेल्थ बुलेटिनका अनुसार सन् २०१७ मा मानसिक रोगसँग सम्बन्धित ४२०० केस सार्वजनिक भएका थिए।
आत्महत्या पनि यहाँ अब कुनै नौलो रहेन। यहाँ हरेक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दो छ। सन् २०१२ मा ७६ मानिसले आत्महत्या गरे। यहाँ आत्महत्या गर्नेहरु हजारौं त छैनन्। तर यहाँको जनसंख्याको तुलनामा अहिलेको संख्या पनि कम होइन। भुटानको जनसंख्या मुस्किलले १० लाख छ। यो अस्पतालमा आएका आत्महत्याका केसबाट पनि प्रमुख कारण चिन्ता र मानसिक रोग हो देखिन्छ।
द डिप्लोम्याटमा प्रकाशित एक रिपोर्टका अनुसार यहाँ जम्मा ४ मनोचिकित्सक छन्। मनौवैज्ञानिक कोही पनि छैनन्। प्रशिक्षित काउन्सिलर छन् तर ती केवल राजधानी थिम्पुमा मात्रै सीमित छन्। सबै मनोचिकित्सक पनि थिम्पुमै छन्।
हालैका दिनमा भुटान सरकारले मानसिक स्वास्थ्यमा बजेट वृद्धि गरेको छ। भुटानको स्वास्थ्य मन्त्रालयले आगामी ५ वर्षका लागि मानसिक स्वास्थ्यका लागि ६ करोड बजेट प्रस्तावित गरेको छ। यहाँ मानसिक स्वास्थ्य सेवाका साथै शिक्षा र जागरुकताका लागि धेरै काम गर्न बाँकी छ।
रिपोर्टका अनुसार भुटानका अर्को समस्या हो भाषाको। भुटानको राष्ट्रिय भाषा जोङखा हो। यसका साथै अन्य थुप्रै स्थानीय भाषा छन्। भाषाकै कारण मानसिक रोगी र उसको स्थिति बुझ्न पनि समस्या छ। भुटानी मनोचिकित्सकका अनुसार राष्ट्रिय भाषामा मानसिक स्वास्थ्यका लागि पर्याप्त शब्दावलीसमेत छैन।
मानसिक रोगीमध्ये अधिकांश पागलपनका शिकार छन्। यसलाई कलंकका रुपमा हेर्ने गरिन्छ। भुटानमा मानसिक रोगका बारेमा सायदै बहस या कुनै अभियान चलाइयो । यद्यपि ग्रस नेशनल हेप्पीनेसमा मानसिक स्वास्थ्यलाई ९ औं नम्बरमा राखिएको छ। भुटानमा मानसिक स्वास्थ्यबारे चिन्ता स्वास्थ्य मन्त्रालयको सन् २०१४ को आत्महत्यासम्बन्धी रिपोर्ट पछि बढेको हो।
अघिल्लो सरकारले आत्महत्या रोक्न ३ वर्षीय योजना बनाएको थियो। जसको नाम थियो, नेशनल सुसाइड प्रिभेन्सन प्रोग्राम। भुटानमा आत्महत्या रोक्न कुनै हेल्पलाइन नम्बर छैन। विश्व स्वास्थ्य संगठनका अनुसार बढी आत्महत्या गर्ने देशको सूचीमा भुटान २१ औं नम्बरमा पर्छ।
भुटानका प्रथम मनोचिकित्सक चेन्चो दोर्जीका अनुसार भुटानीहरु डिप्रेसनले ग्रस्त हुनुको सिधा सम्बन्ध परिवार र समुदाय बिखण्डनसँग छ। डा दोर्जीले द स्टार पत्रिकासँग भनेका छन्, ‘भुटानमा अब पनि मध्यकालिन समाज छ । यहाँ वस्तु विनिमय प्रणाली अझै लोकप्रिय छ। १९६० को दशकको सुरुवातमा भुटानका राजाले बन्द मुलुक खुला गर्ने निर्णय गरे । भुटानमा आधुनिकता यसै समयबाट सुरु भयो।
अधिकांश भुटानी आज पनि १७ औं शताब्दिकै कपडा लगाउँछन्। तर टीशर्ट र मिनी स्कर्ट पनि देखिन थालेका छन्। विजनेश विक पत्रिकाले सन् २००६ मा भुटानलाई विश्वकै आठौं खुशी मुलुक भनेपनि यहाँ मानिसहरुको आय कम छ, विदेशी ऋण पनि लगातार बढिरहेको छ। ९० को दशकमा नेपाली मुलका करिब १ लाख नागरिक देश निकालाका लागि पनि भुटानको आलोचना हुने गर्छ। भुटानलाइ डर थियो, नेपाली मुलका मानिसबाट बहुसंख्यक मानिसहरु अल्पसंख्यक हुनेछ।
डा दोर्जी भन्छन्, ‘१९९९ देखि ५३०० मानिसहरु डिप्रेसन, मनोरोग र अन्य मानसिक रोगको चपेटामा आए । भुटानमा मनोरोगीको उपचारका लागि भएको एकमात्र विभागमा बिरामीको चाप बढिरहेको छ। लागूपदार्थको लत, तीब्र शहरीकरण र बेरोजगारीजस्ता समस्या एकैसाथ देखिए।
डा दोर्जीले उनले सन् २००५ मा आफ्नो रिसर्च पेपरमा लेखेका थिए, ‘मदिरा भुटानी संस्कृतिको अहम हिस्सा रह्यो। बौद्ध परम्पराको पुस्तकमा पनि मदिराको उल्लेख गरिएको पाइन्छ। मदिरा मानिसहरु आफ्नै घरमा बनाउँछन्। तर यो अहिले आयआर्जनको माध्यम पनि बनेको छ। यसको आयात पनि गरिन्छ।
विदेशमा अध्ययनपछि फर्केकाहरुमा लागूपदार्थको लत रहेको बताइन्छ । प्रहरीले सन् १९८१ मा लागूपदार्थको पहिलो केस दायर गरेको थियो।
भुटान लामोसमय विश्वबाट अलग रह्यो । यहाँको अधिकांश आवश्यकता भारतबाट पूर्ति हुन्छ। तर अब यो देश आफ्नो ढोका बाँकी विश्वका लागि पनि खोल्दैछ । विशेषज्ञहरुका अनुसार भुटानको खुशी यहाँको परम्परा र मौलिकता हो। तर के पनि भनिन्छ भने यहाँको मौलिकता र परम्परामा चोट पुग्दा यहाँका नागरिकमा डिप्रेसन आउनु एक स्वभाविक प्रक्रिया हुनेछ।
बीबीसी हिन्दीबाट