साउदी अरबका पत्रकार जमाल खसोग्गीलाई टर्कीस्थित साउदी अरबको महावाणिज्य दूतावासमा हत्या गरेपछि उनको शरीरका टुक्रालाई ५ वटा सुटकेशमा हालेर दूतावासबाट निकालिएको टर्कीको सरकारी अखबारले जनाएको छ।
उच्च अधिकारीलाई उद्दृत गर्दै सवाह नामक अखबारले जनाएअनुसार खसोग्गीको शव सुटकेशमा हालेर निकालेपछि महावाणिज्य दूतावासनजिकैको राजदूत निवासमा लगिएको थियो । अमेरिकामा निर्वासनमा रहेका खसोग्गी पहिली पत्नीसँगको सम्बन्धविच्छेदको कागजात लिन जाने क्रममा गत अक्टोबर २ का दिन महावाणिज्य दूतावासभित्रै मारिएका थिए । दूतावासबाटै खसोग्गी बेपत्ता भएको र मारिएको कुरालाई पहिले साउदी अरबले अस्विकार गरेकोमा पछि झगडामा मारिएको बताएका थियो । खसोग्गीको शव कहाँ छ भन्नेबारे साउदी अरबले अहिलेसम्म स्पष्ट जानकारी दिएको छैन ।
अखबारका अनुसार पत्रकार खसोग्गी हत्यामा माहेर मुत्रेव, सलाह टुबेगी र थार अल हरबी नामका तीन व्यक्ति सामेल थिए । उनीहरु खसोग्गीको हत्याका लागि साउदी अरबबाट आएका १५ सदस्यीय टोलीका सदस्य थिए ।
मुत्रेव साउदी राजकुमार मोहम्मद विन सलमानका निकट सहयोगी हुन् भने टुबेगी साउदी फरेन्सिक विज्ञान परिषदका प्रमुख तथा सेनाका कर्णेल हुन् । अल जजिराबाट