क्यामरुनमा हतियारधारीद्वारा अपहरित ७९ जना विद्यार्थीलाई नियन्त्रणमुक्त गरिएको छ।
गएको सोमबार अपहरणमा परेका उनीहरुलाई सकुशल नियन्त्रणमुक्त गरिएको क्यामरुनका सञ्चारमन्त्रीले बुधबार एएफपीसँगको कुराकानीमा जानकारी दिएका छन्।
अपहरणमुक्त भएकाहरुको बारेमा विस्तृत विवरण भने अहिले दिइएको छैन। फ्रान्सेलीभाषीको बाहुल्यता रहेको देशको अंग्रेजीभाषीको बाहुल्यता रहेको ठाउँबाट उनीहरुलाई अपहरण गरिएको हो।
त्यस क्षेत्रलाई क्यामरूनबाट छुट्ट्याउन सङ्घर्ष गर्दै आएको समूहले विद्यार्थीलाई अपहरण गरेको सरकारी अधिकारीले जनाएका छन्। विद्यालय सञ्चालन भइरहेको समय विद्रोहीको एक सशस्त्र समूह पे्रस्बिटरियन माध्यमिक विद्यालय, वामेडामा प्रवेश गरी विद्यालयका प्रिन्सिपल, एक शिक्षक र बस चालकलाई समेत विद्यार्थीसँगै लगेको थियो। त्यो क्षेत्र क्यामरूनको उत्तरपश्चिममा पर्छ।
क्यामरूनमा यो अपहरणको घटना अहिलेसम्मकै ठूलो भएको बताइएको छ। क्यामरूनमा ३५ वर्षदेखि राजनीतिक नेतृत्वमा रहेका ८५ वर्षीय राष्ट्रपति पाउल बियाले गएको अक्टोबरमा भएको चुनावबाट सातौँ कार्यकालका लागि चुनिएको केही समयमा नै यो घटना भएको हो। यद्यपि निर्वाचन परिणाप्रति विपक्षीले धाँधली भएको बताउँदै असन्तुष्टि जनाउँदै आएका छन्।
चुनावमा बियाले ७१.३ प्रतिशत मत प्राप्त गरी जितेको दावी गरे पनि चुनावमा सरकारी अधिकारीले नै हुलदङ्गा मच्चाएर निम्न सङ्ख्यामा सहभागिता भएको विपक्षीको आरोप राष्ट्रपतिमाथि छ। क्यामरूनमा दुई करोड २० लाख अंग्रेजीभाषी नागरिक छन् र अल्पसङ्ख्यक उनीहरू आफ्नो भू–भागलाई स्वतन्त्र गरिनुपर्ने बताउँदै आएका छन्। विश्वयुद्धपूर्व क्यामरून जर्मनीको कोलोनीका रूपमा रहेकोमा विश्वयुद्धपछि बेलायत र जर्मनीको अधिनमा गएको थियो।
सन् २०१६ मा स्वतन्त्रताका लागि आवाज उठाए पनि अंग्रेजीभाषीलाई बियाले राज्यशक्तिको बलमा दबाएका थिए। सन् २०१७ को अक्टोबर १ मा एङ्लोफोन समुदायले देशको उत्तरपश्चिमी तथा दक्षिण पश्चिमी क्षेत्रलाई अम्बाजोनिया गणतन्त्रका रूपमा घोषणा गरेका थिए तर यसलाई कुनै पनि राष्ट्रले मान्यता दिएको छैन।
क्यामरूनमा भएका हिंसात्मक आन्दोलनमा परि ४०० नागरिकको मृत्यु भएको छ भने १७५ सुरक्षाकर्मीले ज्यान गुमाएका छन्।