यसैबर्ष हुने लोकसभा चुनावका लागि सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाले तयारी शुरु गरेको छ। उसले पूर्वी राज्य आसाममा चुनाव केन्द्रीत आमसभाको आयोजना गरेको छ।
आसामलाई केन्द्रमा राखेर प्रधानमन्त्री नरेन्द्र मोदी १० दिनमा दोस्रो पटक आसाम जादैंछन्। यसअघि उनले क्रिसमस डेमा सबैभन्दा लामो 'बोगीबील पुल'को उद्घाटन गरेका थिए।
आज हुने आमसभालाई सम्बोधन गर्नका लागि उनी दिनभर व्यस्त हुनेछन्। सबैभन्दा पहिला मोदीले मणिपुर पुग्ने छन्। त्यहाँ विभिन्न परियोजनाका उद्घाटन गर्ने तयारी गरिएको छ। यसैगरी सिल्चर क्षेत्रको कालीनगरमा आयोजित र्यालीलाई सम्बोधन गर्ने बताइएको छ। भाजपा र उसको गठबन्धनले त्यहाँ रहेको २५ संसदीय सिट मध्ये २१ मा जित हात पार्ने लक्ष्य लिएको छ।
आसाममा १४ मध्य ११ सिट जित्ने अपेक्षा गरेको पनि भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। पछिल्लो लोकसभा चुनावमा भाजपाले १४ मध्ये ७ सिट जितेको थियो।
२०१६मा भएको विधानसभा निवाचनमा ६१ सिट जित्दै सबैभन्दा ठूलो दल भएको थियो। यसैगरी शनिबार पनि मोदी पूर्वी राज्यमै केन्द्रीत हुने जनाइएको छ। ओडिसामा ४ अर्ब ५० करोड बढीको केन्द्रीय परियोजनाको शुभारम्भ गर्ने छन्।