अमेरिकाले आफ्ना कुटनीतिज्ञ र भेनेजुयलाका विपक्षी नेता जुआन गाइदोलाई कुनै पनि किसिमको आँच आएमा त्यसको कडा जवाफ दिने चेतावनी भेनेजुयलालाई दिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आइतबार ट्वीट गर्दै उक्त चेतावनी दिएका हुन् ।
अमेरिकासहित २० भन्दा बढी देशले विपक्षी नेता जुआन गाइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएपछि अमेरिकाका उच्च अधिकारीको यस्तो चेतावनी आएको हो । गाइदोले गत वर्ष भएको चुनावमा धाँधली गरेको आरोप राष्ट्रपति निकोलस माडुरोलाई लगाएका छन् । विपक्षीहरुले चुनाव पनि बहिस्कार गरेका थिए । विपक्षीको आव्हानपछि भेनेजुयलामा सरकारविरुद्ध संघर्ष चर्किएको थियो ।
आइतबारै अमेरिकाका लागि भेनेजुयलाका उच्च सैनिक अधिकारीले जुआन गाइदोलाई राष्ट्रपति मान्ने घोषणा गरेका थिए । त्यसपछि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टनले अमेरिकी कुटनीतिज्ञ र विपक्षी नेतालाई डर देखाउने, धम्की दिने प्रयास नगर्न चेतावनी दिएका हुन् ।
शनिबार युरोपेली मुलुकहरु स्पेन, जर्मनी, फ्रान्स र बेलायतले भेनेजुयलामा ८ दिनभित्र चुनाव घोषणा नभए आफूहरुले पनि गाइदोलाई राष्ट्रपतिको मान्यता दिने चेतावनी दिएका थिए । तर माडुरोले यसलाइ अस्वीकार गर्दै आफ्नो अल्टिमेटम फिर्ता लिन युरोपेली मुलुकलाई आग्रह गरेका छन् । आइतबार उनले सीएनएनसँग कुरा गर्दै भेनेजुयला युरोपको बन्धक नभएको टिप्पणी गरेका छन् ।
माडुरोले आफूविरुद्ध प्रदर्शन गरिरहेकाहरुसँग संवादका लागि तयार रहेको उल्लेख गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कयौं सन्देश पठाउँदा पनि आफूलाई उपेक्षा गरेको बताए ।
यता, रुस, चीन, मेक्सिको, टर्की, पेरु, बोलिभियालगायतका मुलुकहरुले माडुरोको समर्थन गरेका छन् । शनिबारको राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकमा पनि रुसले भेनेजुयलामा कूको षडयन्त्र रचेको आरोप अमेरिकामाथि लगाएको थियो । यद्यपि एक दर्जन ल्याटिन अमेरिकी मुलुक र क्यानडाले विपक्षी नेता गाइदोलाई समर्थन गरेका छन् ।
सीएनएन टुर्किसलाइ दिएको अन्तर्वार्तामा माडुरोले भेनेजुयला अमेरिकी षडयन्त्रको शिकार भएको बताएका छन् । एक रिपोर्टलाई उद्दृत गर्दै उनले गाइदोले राष्ट्रपति घोषणा गर्नु एक दिनअघि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले विपक्षीलाई पूर्ण सहयोग दिने प्रतिबद्धता जनाएको बताए ।
उता विपक्षी नेता गाइदोले भने वाशिङटन पोस्टसँग आफूहरुले माडुरोलाई अपदस्थ गर्न सेना र कर्मचारीसँग छलफलमा रहेको बताए ।
माडुरो किन अलोकप्रिय छन् ?
यतिबेला भेनेजुयला आर्थिक संकटबाट गुज्रिरहेको छ । दैनिक आवश्यकताका कुरासमेत अभाव हुन थालेपछि लाखौं मानिस देश छाडेर हिडिरहेका छन् । गत वर्ष भएको चुनावमा माडुरो दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । तर चुनावको निष्पक्षतालाई लिएर विवाद भएको थियो । कयांै विपक्षी नेताहरुलाई या त चुनाव लड्न रोकिएको थियो, या जेल पठाइएको थियो । यही जनवरीमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश भागेर अमेरिका गएका थिए । अमेरिकामा उनले चुनाव निष्पक्ष नभएको बताएका थिए ।