लोकपाल विधेयक कार्यान्वयनमा ल्याउन माग गर्दै भारतका समाजसेवी अन्ना हजारेले अनसन सुरू गरेका छन्।
लोकपाल र लोकआयुक्त नियुक्ति गर्नुपर्ने माग राखेर हजारेले आफ्नै गाउँमा अनसन सुरू गरेकाे भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। हजारलेले लोकपाल कानून बनेको ५ वर्ष हुँदा पनि वर्तमान सरकारले कार्यान्वयन गर्न आनाकानी गरेको बताए।
उनले नरेन्द्र मोदी सरकारले चाहेको भए तत्कालै लागू हुने कानून कार्यान्वयनमा चासो नदिएको उल्लेख गरे। हजारेले आफ्नो अनशन कुनै पनि पार्टी र व्यक्तिको विरोधमा नरहेको पनि प्रष्ट पारेका छन्। समाज र देशको हितका लागि पटक पटक आन्दोलन गर्दै आएका हजारेले यस पटक पनि देशकै हितका लागि अनसनमा बसेकाे बताए।
अन्ना हजारेले केही दिन पहिला प्रधानमन्त्री मोदीलाई पत्र लेखेर केन्द्र सरकारले जनतालाई धोका दिइरहेको बताएका थिए। आफ्नो अनसनमा कुनै पनि राजनीतिक दललाई सहभागी नहुन आग्रह गरेका छन्। आफ्नो आन्दोलनलाई राजनीतिक रंग नदिने भन्दै यस्तो आग्रह गरेका हुन्। सन् २०११–१२ मा हजारेले दिल्लीको रामलीला मैदानमा गरेको यूपीए सरकार विरोधी आन्दोलनमा सहभागी भएकाहरू अहिले राजनीतिमा आएका छन्। जसमध्ये दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि हुन्।
हजारेले अनसन शुरू गर्ने चेतावनी दिएपछि मंगलबार लोकपाल चयन गर्न बनाएका समितिको बैठक पहिलो पटक बसेको थियो। चार महिना पहिला गठन भएको ८ सदस्यीय समितिको बैठक पहिलो पटक बसेको हो। समितिको संयोजकमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश रंजना प्रकाश देसाईं रहेका छन्।