जेलको बसाई आरामदायी र खाना पनि राम्रो पाइने भएकाले जापानका जेष्ठ नागरिकहरु जेल जान मन पराउने गरेको पाइएको छ।
पछिल्लो २० वर्षमा जेल जाने जेष्ठ नागरिकको संख्या बृद्धि भएको पाइएको हो। त्यहाँका ६५ वर्षमाथि उमेरका व्यक्ति आपराधिक घटनामा संलग्न हुने र जेलमा गएर ढुक्कले बस्ने गरेको पाइएको छ। सन् १९९७ मा २० जना जेष्ठ नागरिक आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा जेल परेका थिए। सन् २०१६ मा आइपुग्दा यो संख्या बढेर २५ सय पुगेको छ।
हिरोशिमा निबासी ६९ वर्षीय तोशियो तकाता भने गरिब भएकाले नियम तोडे र जेलमा गएर बसेका थिए। ‘म यस्तो ठाउँमा जान चाहन्थें जहाँ सित्तैमा खाना पाइयोस्’,उनले भने ‘पेन्सन पाउने उमेर हुँदा पनि पाइरहेको थिइन।’ पहिलो पटक अपराध गर्दा तोशिया ६२ वर्षका थिए। जतिबेला अदालतले उनलाई १ वर्षका लागि जेल पठाएको थियो। जेलबाट बाहिर आएपछि पनि पटक पटक उनले अपराध गरे। उनले भने ‘एक पटक जेल जानकै लागि पार्कमा महिलामाथि चक्कु देखाएँ, ताकि उनले पुलिस बोलाउन र मलाई जेलमा लैजाउन्’।
तोशिया अहिलेसम्म ८ पटक जेल परिसकेका छन्। उनको अनुभवले भन्छ ‘जेल बसाई एकदमै निस्फिक्रि हुन्छ। त्यहाँ काम गरेर केही पैसा कमाउन पनि सकिन्छ र जेल बसाई कुनै पनि हिसाबले कष्टकर छैन।’ ७० वर्षीया एक महिलाले भनिन् ‘श्रीमानसँग बस्न पनि सक्दिन, मसँग खान, बस्नका लागि राम्रो व्यवस्था पनि नभएकाले चोरी गरेको अभियोगमा जेलमा बस्न पुगे। जहाँ मलाई खान बस्नको कुनै समस्या छैन।’
जापानका जनसंख्या विज्ञ माइकल न्यूमेनले भने ‘जापानमा जेष्ठ नागरिकलाई दिइने न्यूनतम पेन्सनबाट जीवनयापन गर्न निकै मुस्किल छ। त्यसैले पेन्सन लिने उमेरका जेष्ठ नागरिकहरु छोराछोरीको बोझ बन्न पनि नचाहेर जेलमा बस्न रुचाउँछन्।’ उनको भनाईमा जापानको जेलमा राम्रो खाना पाइने भएकाले जेष्ठ नागरिकहरु त्यहाँ गएर बस्न रुचाउँछन्।