भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले सत्ताबाट हट्न आफूमाथि दबाब बढ्दै गए गृहयुद्धको सम्भावनालाई नकार्न नसकिने चेतावनी दिएका छन् । एक टीभी अन्तर्वार्तामा उनले यदि भेनेजुएला संकटमा हस्तक्षेप गरे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रगतको कंलक लागेर ह्वाइट छाड्न बाध्य हुने बताए । उनले तत्काल चुनाव घोषणा गर्न युरोपेली मुलुकहरुले दिएको अल्टिमेटमलाई पनि अस्विकार गरेका छन् । इयुका केही मुलुकले चुनाव घोषणा गर्न मडुरोलाई आइतबारसम्मको समय दिएका थिए ।
स्पेनिस टीभी कार्यक्रम साल्भाडोसलाई दिएको अन्तर्वार्तामा वर्तमान संकटले गृहयुद्ध निम्त्याउने सम्भावना कत्तिको छ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘यसको निश्चित जवाफ कसैले पनि दिन सक्दैन, सबै कुरा उत्तरी साम्राज्य (अमेरिका) र पश्चिमाहरुको पागलपनको स्तरमा भर पर्छ ।’
यसअघि ट्रम्पले सीबीएस टेलिभिजनलाई दिएको अन्तर्वार्तामा सैनिक हस्तक्षेप नै एकमात्र विकल्प रहेको चेतावनी दिएका थिए ।माडुरोले अमेरिकी हस्तक्षेप भए भियतनाम दोहोरिने बताएका छन् ।