क्यानडाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी विनिमय कम्पनी क्वाड्रिगाका लगानीकर्ताको साढे १४ करोड डलर डुब्ने स्थिति आएको छ । यसको कारण हो बिटक्वाइन र अन्य डिजिटल सम्पत्ती राखिएको अकाउन्टको पासवर्ड ।
लगानीकर्ताका डिजिटल सम्पत्ती ह्याकरबाट जोगाउन क्वाड्रिगाको ‘कोल्ड वालेट’ नामक अफलाइन अकाउन्टमा राखिएको थियो । उक्त अकाउन्टको पासवर्ड कम्पनीका कार्यकारी प्रमुख जेराल्ड कटनसंगमात्र थियो । तर जेराल्डको गत ९ डिसेम्बरमा भारतको जयपुरमा निधन भएपछि उक्त अकाउन्टसम्म कसरी पुग्ने र १ लाख १५ हजारभन्दा बढी प्रयोगकर्ताका सम्पत्ती कसरी फर्काउने भन्ने चुनौती कम्पनीलाई देखिएको छ । कम्पनीमा नगद नै ५ करोड डलर पनि थियो । जेराल्डले नै कम्पनीको लगानी, क्वाइन र फण्डसंग सम्बन्धित कारोबार हेर्थे । ३१ जनवरीमा क्वाड्रिगाले नोभा स्कटियाको सर्वोच्च अदालतमा कम्पनीमा रहेको सम्पत्तीबारेको जानकारी पत्ता लगाउन असफल भएको जनाएको थियो ।
जेराल्डकी पत्नी जेनिफर रबर्टसनले पनि पतिले प्रयोग गर्ने ल्यापटपबाट पनि पासवर्ड या रिकभरि की पत्ता लगाउन नसकिएको बताएकी छिन् । आफ्नो मृत्युको २ साताअघि जेराल्डले आफ्नो सम्पत्तीको हकदार पत्नी जेनिफरलाई बनाएका थिए । द ग्लोब एण्ड मेल अखबारका अनुसार उनले आफ्नो २ कुकुरका लागि पनि ७६ हजार डलर छुट्याएका थिए ।