भारतीय प्रधानमन्त्रीको अरुणाचल प्रदेश भ्रमणलाई लिएर चीनले आपत्ती जनाएको छ । विवादित क्षेत्रमा कुनै पनि भारतीय गतिविधिले सीमामा जटिल परिस्थिति निम्तन सक्ने चेतावनी चीनले दिएको हो । यस्ता गतिविधिबाट टाढै रहन पनि चीनल भारतीय नेतृत्वलाई सचेत गराएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार अरुणाचल प्रदेशमा ४ खर्ब रुपियाँको परियोजना शिलान्यास गर्दै केन्द्र सरकारले सीमावर्ती राज्यलाई जोड्न विशेष ध्यान दिइरहेको बताएका थिए ।
मोदीले आफ्नो सरकारले राजमार्ग, रेल्वे र हवाईमार्गलाई ध्यान दिइरहेको उल्लेख गर्दै अरुणाचलमा आफ्नो सरकार सक्रिय रहेको बताएका थिए । विगतमा सरकारले अरुणाचल प्रदेशलाई उपेक्षा गर्ने गरेको उनको भनाइ छ ।
चिनिया आपत्तीप्रति भारतीय विदेश मन्त्रालयले असन्तुष्टि जनाएको छ । अरुणाचल प्रदेश भारतको अभिन्न अंग उल्लेख गर्दै मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारतीय नेताले समय–समयमा अरुणाचल प्रदेश भ्रमण गर्ने गरेका छन् र यो भ्रमण अन्य राज्यको भ्रमणसरह हो ।’
चिनिया विदेश मन्त्रालयका प्रवक्ता हु चुनयिङले मोदीको अरुणाचल भ्रमणसम्बन्धित एक प्रश्नमा भने, ‘चीन र भारतबीचको सीमा विवादमा हाम्रो नीति विगतको जस्तै हो, यसमा कुनै परिवर्तन आएको छैन, चीन सरकारले तथाकथित अरुणाचल प्रदेशलाई कहिल्यै मान्यता दिएको छैन, भारतीय नेताको अरुणाचल भ्रमणको हामी दृढतापूर्वक विरोध गर्छौं ।’ प्रवक्ता हुले दुई देशको पारस्परिक हित, द्विपक्षीय सम्बन्ध र सीमा विवादमा पर्नबाट जोगिन हाम्रो चासोको पनि ख्याल गर्न भारतलाई आग्रह गरे ।
चीनले अरुणाचल प्रदेशलाई दक्षिण तिब्बतको हिस्सा भन्दै आएको छ । भारत र चीनबीच सीमा विवादका विषयमा कयौं बैठक भएपनि अहिलेसम्म समस्या समाधान हुन सकेको छैन । दुई देशबीच ३५०० किलोमिटर लामो सीमा छ । सीमा विवादकै कारण दुवै देशबीच १९६२ मा युद्ध भइसकेको छ ।
अरुणाचल प्रदेश भारतको अंगको रुपमा अन्तर्राष्ट्रिय क्षेत्रले भने मान्यता दिइसकेका छन् । अन्तर्राष्ट्रिय नक्सामा पनि यो प्रदेश भारतको भागका रुपमा चित्रित छ । पहिले चीनले अरुणाचल प्रदेशको उत्तरी भाग तवाङलाई आफ्नो भाग दाबी गर्दै आएको थियो । यहाँ भारतको सबैभन्दा ठूलो बौद्ध मन्दिर छ ।
के हो विवाद ?
चीन र भारतबीच म्याकमोहन रेखालाई अन्तर्राष्ट्रिय सीमा रेखा मानिन्छ । तर चीन यसलाई अस्वीकार गर्छ । चीनले तिब्बतको ठूलो भाग भारतसँग रहेको दाबी गर्दै आएको छ । १९५० को दशकको अन्त्यमा तिब्बतलाई मुख्यभूमिका मिलाएपछि चीनले अक्साई चीनको करिब ३८ हजार वर्गकिलोमिटर क्षेत्रलाई कब्जा गरेको थियो । यो क्षेत्र लद्दाखसँग जोडिएको थियो । चीनले यहाँ नेशनल हाइवे बनाएर पूर्वी प्रान्त शिनजियाङलाई जोडेको छ । तर भारतले यसलाई अवैध भन्दै आएको छ ।
अरुणाचल असमसँग जोडिएको छ । यहाँ तिब्बत, बर्मा र भुटानी संस्कृतिको प्रभाव छ । प्राचीनकालमा भारतीय शासक र तिब्बती शासकले अरुणाचलको बीचमा कुनै सीमा निर्धारण गरेका थिएनन् । १९१२ सम्म भारत र तिब्बतबीच कुनै सीमा रेखा थिएन । १९१४ मा तिब्बत, चीन र ब्रिटिश शासकका प्रतिनिधिको बैठकले सीमा रेखा निर्धारण गरिएको थियो । भारतका ब्रिटिश शासकले त्यतिखेर तवाङ र दक्षिणी भागलाई भारतको हिस्सा मानेका थिए भने तिब्बतीले पनि स्वीकार गरे । तर चीनले यसलाई अस्विकार गर्यो । १९३५ मा यो पूरै क्षेत्र भारतमा आयो ।