अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको राष्ट्रिय सेनालाई राष्ट्रपति निकोलस मादुरोलाई साथ नदिन आग्रह गरेका छन् ।
मिआमीमा धेरैजसो क्युवा र भेनेजुएलाका आप्रवासीहरु सहभागी सभालाई सम्बोधन गर्दै ट्रम्पले मादुरोलाई साथ दिएर आफ्नो ज्यान र भविष्य जोखिममा नपार्न आग्रह पनि गरे।
ट्रम्पले त्यहाँको सेनालाई लक्षित गर्दै भनेका छन्, मदुरोलाई गरिरहेको समर्थन नछाडेमा उनीहरुले अन्तिममा कुनै सुरक्षित बाटो पाउने छैनन्। अर्को कुनै बाटो नै छैन।
ट्रम्पको उक्त भनाइले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका विपक्षी नेता ग्वाइदोप्रति सरकारी अधिकारीको विश्वाश र साथ बढाउने एउटा नयाँ कदम मानिएको छ। ग्वाइदोलाई अमेरिका लगायत दर्जनौं देशले अन्तरिम राष्ट्रपतिका रुपमा स्वीकार गरेका छन्।