सरकारविरोधी प्रदर्शन चर्किएपछि सुडानका राष्ट्रपति ओमार अल बसिरले राष्ट्रिय संकटकाल घोषणा गरेका छन्।
सुडानका सबै प्रान्तीय सरकार विघटन गरी गभर्नरहरुलाई बर्खास्त गर्दै राष्ट्रपति बसिरले संकटकाल घोषणा गरेका हुन्। टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति ओमारले एक वर्षसम्मका लागि मुलुकका संकटकाल लगाइएको घोषणा गरे।
यसअघि सुडानको राष्ट्रिय सुरक्षा तथा गुप्तचर निकायले भने राष्ट्रपति बसिरले राजीनामा दिने बताएको थियो। राष्ट्रपति बसिरले पछिल्लो हप्ता सरकारविरोधी चर्को प्रदर्शनको सामना गरेका थिए।
सम्बोधनका क्रममा राष्ट्रपति बसिरले विरोध प्रदर्शनले मुलुकलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाए। उनले प्रदर्शनबाट मात्र परिवर्तन सम्भव नहुने भन्दै चुनावमार्फत् नै सरकार परिवर्तन सम्भव हुने बताए।
सुडानमा पाउरोटी र इन्धनको मूल्य घटाउन माग गर्दै सुरु भएको प्रदर्शन पछिल्लो समयमा राष्ट्रपति बसिरको ३० वर्षे कार्यकालको विरोधमा पुगेको थियो। प्रदर्शनका क्रममा ४० जनाभन्दा बढीको मृत्यु भइसकेको छ। ७५ वर्षीय राष्ट्रपति बसिर सन् १९८९ देखि शक्तिमा आएका हुन्।