केही दिनयता भारत र पाकिस्तानबीच चलिरहेको द्वन्द्व थामिने हुने संकेत देखिएको छ। पाकिस्तानले बुधबार नियन्त्रणमा लिएका भारतीय लडाकु विमानका पाइलट अभिनन्दनलाई शुक्रबार रिहा गर्ने निर्णय बिहीबार गरेसँगै दुई मुलुकबीचको तनाव थामिने संकेत देखिएको हो।
फरवरी १४ मा भारत प्रशासित जम्मुकस्मिरको पुलवामा भारतीय सुरक्षाबलमाथि भएको आत्मघाती हमलामा ४० भन्दा बढी सुरक्षाकर्मीको मृत्यु भएपछि दुई मुलुकबीच विवाद चर्किएको हो। हमलामा पाकिस्तानको हात रहेको दाबी भारतको छ।
घटनामा पाकिस्तानको हात रहेको भन्दै भारतले मंगलबार पाकिस्तानको बालाकोट क्षेत्रमा हवाई हमला गरेको थियो। त्यसको जवाफमा बुधबार बिहान पाकिस्तानले भारतीय वायु सेवाका दुई विमानलाई खसालिदिएको दाबी गरेको थियो।
पाकिस्तानले हमलामा प्रयोग गरिएका भारतका दुइटा विमान खसालेको दाबी गरे पनि भारतले भने मिग–२१ लडाकु विमान पाकिस्तानी हमलामा दुर्घटना भएको र पाइलट हराइरहेको जनाएको थियो। भारतले पनि उडानमा रहेको एउटा पाकिस्तानी लडाकु विमान खसालिदिएको दाबी गर्दै आएको छ।
पाकिस्तानले भारतीय पाइलट अभिनन्दनलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै उनलाई सम्मानका साथ राखेको भिडियो सार्वजनिक गरेको थियो।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बिहीबार संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्दै भारतीय विमानका पाइलटलाई शान्तिको सन्देश दिँदै छोड्न लागेको बताए। खानले पाकिस्तान तनाव कम गर्ने दिशामा केन्द्रित रहेको उल्लेख गर्दै भारतीय चालकलाई सुरक्षित छोडिदिने बताएका हुन् ।