विवादका कारण केही दिनदेखि अबरुद्ध भएको भारत–पाकिस्तानबीचको रेल सेवा पुनः सुरु भएको छ। दुई देशबीचको महत्वपूर्ण सेवाको रूपमा रहेको सम्झौता एक्सप्रेसको सेवा सुरु भएको अधिकारीहरूले जनाएका हुन्।
पछिल्लो दुई देशीय तनावपछि पाकिस्तानको लाहोरदेखि भारतको नयाँ दिल्लीसम्मको रेल सेवा अवरुद्ध भएको थियो।सम्झौता एक्सप्रेसको रेल अत्तारी रेल स्टेशन पुगेको भारतीय अधिकारीले बताएका छन्।
पाकिस्तानी सञ्चार माध्यमहरुले पाकिस्तानको लाहोरबाट भारततर्फ प्रस्थान गरेको सो रेलमा १५० जना यात्रु रहेको जनाएका छन्।भारत प्रशासित काश्मिरको पुलवामामा गत फेब्रुअरी १४ मा भएको आतंकवादी हमलामा ४० जनाभन्दा बढी भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच तनाव बढेसँगै रेल सेवासमेत अवरुद्ध भएको थियो। दुई देशबीच सामान्यतः सोमबार र बिहीबार रेल सेवा सञ्चालन हुँदै आएको थियो।
पाकिस्तानको विदेश मन्त्रालयले गत फेब्रुअरी २८ मा दुई देशीय रेल सेवा सञ्चालन नगर्ने घोषणा गरेको थियो।तर भारतको राजधानी नयाँदिल्लीदेखि पाकिस्तानको पन्जाब प्रदेशको राजधानी लाहोरसम्मको अन्तरदेशीय बस सेवा भने रोकिएको थिएन।