अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स), भारतको चर्चित अस्पताल । नेपालबाटसमेत यहाँ बिरामी उपचारका लागि जान्छन् । यो अस्पतालको बार्षिक बजेट करिब ३ अर्ब छ । ३५ विभाग चलिरहेका छन् र अस्पतालको बेड संख्या ५४० छ । यहाँ दैनिक २ हजार बिरामी उपचार गर्न पुग्छन् । भारी रकम खर्च गर्न यहाँ सम्पूर्ण सुविधा छन् । तर एम्बुलेन्स भने एउटामात्र छ, त्यसमा पनि लाइफ सपोर्ट सिस्टम छैन । यही अस्पतालमा काम गरेर हजारौं बिरामी बचाएका एक सिनियर डाक्टरले सोमबार समयमै एम्बुलेन्स नपाउँदा ज्यान गुमाउनुपरेको छ ।
अस्पताल परिसरकै क्वाटर्समा बस्दै आएका डा. रमेशचन्द चौहानलाई सोमबार साँझ ४ बजे हृदयाघात भयो । उनका परिवारले तत्काल एम्बुलेन्सलाई फोन गरे । तर ड्राइभर नभएको भन्दै एम्बुलेन्स आएन । आफन्तले छिमेकीको कारमा राखेर ५ सय मिटर दुरीमा रहेको एम्सको इमरजेन्सीमा पु¥याए । यसबीचमा ३० मिनेट बितिसकेको थियो । उपचारका क्रममा उनको साढे १२ बजे निधन भयो ।
अस्पतालकै सिनियर डाक्टरको निधनपछि व्यवस्थापनले इमर्जेन्सी बैठक गरेर तत्काल ३ एम्बुलेन्स किन्ने विषयमा छलफल ग¥यो । बैठकले १० वर्षका लागि ३ एम्बुलेन्स भाडामा लिने निर्णय पनि गर्यो ।
अस्पतालबाट ५ सयमिटर दुरीमा रहेको कर्मचारी आवास (क्वार्टर) मा बस्थे ४० वर्षीय डा चौहान । उनी एम्सको कम्युनिटी मेडिसिन विभागमा काम गर्थे । उनकी पत्नी पनि डाक्टर हुन् । सोमबार साँझ ४ बजेतिर डा चौहानलाई अचानक छाति दुख्यो । उनकी पत्नीले आफ्नो चिकित्सकीय अनुभव उपयोग गर्दै तत्काल सीपीआर दिइन् र ९ वर्षीया छोरीलाई छिमेकी बोलाउन पठाइन् । यसक्रममा एम्सको एम्बुलेन्सलाई पनि फोन गरिन् । तर ड्राइभर नभएको भन्दै एम्बुलेन्स पुगेन । त्यसपछि छिमेकीको कारमा राखेर एम्सको इमर्जेन्सीमा लगियो । डाक्टरले सीपीआर गरेपछि डा चौहानको अवस्थामा सुधार आएको थियो । तर करिब साढे १२ बजे निधन भयो । उनको शवलाई मंगलबार दिउँसो गृहनगर हरियाणा लगिएको छ ।