‘मिस नेपाल युएसए २०१८’ को उपाधिका लागि १८ प्रतियोगी भिड्ने भएका छन्। विभिन्न चरणको अडिसनबाट छानिएर यी प्रतियोगी अन्तिम स्पर्धामा आएका हुन्। १९ अगष्टमा आयोजना हुने अन्तिम प्रतिस्पर्धाका लागि प्रतियोगीहरु अहिले बिभिन्न प्रशिक्षण लिइरहेका छन्।
पूर्व मिस नेपाल मेलिना जोशी, कोरियो ग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजिव श्रेष्ठले उनीहरुको प्रतिभा निखार्ने काम गरिहेका छन्। अदीति श्रेष्ठ, आयशा ओझा, एन्जिला पौडेल, वर्षा बराल, विएन्का अधिकारी, विना श्रेष्ठ, दिलाशा न्यौपाने, कृति ढुंगेल, लाक्पा शेर्पा, नेलिया गुरुङ, पोसा थापा, सपना महर्जन, सपना गौतम, श्रेया नेपाली, सुजना रुपाखेती, सुकृती ढुंगेल, सुशाना पोखरेल र स्वीकृती भट्टराई अन्तिम प्रतियोगिताका लागि छानिएका छन्।
‘मिस नेपाल युएसए’ आफ्नो लागि अवसर र चुनौती दुबै भएको प्रतियोगीले बताएका छन्। प्रतियोगितामा सहभागी अधिकांश प्रतियोगीले नेपाल र अमेरिकामा रहेका नेपालीको निम्ति सामाजिक काम गर्ने बताएका छन्।इभेन्ट प्लानेट इंकले इप्लानेट नेपालको सहकार्यमा २०११ देखि गर्दै आएको मिस नेपाल युएसएको छैठौं संस्करणको व्यवस्थापन नेपाल ११ इन्टरटेइमेण्टले लिएको छ। टेक्ससको डलास नजिकको शहर सिटी अफ प्लानोले समेत सहकार्य गरेको कार्यक्रममा नेपाली समाज टेक्सस र नेपाल पर्यटन बोर्डले समेत साथ दिएको छ।
प्रतियोगितामा मिस नेपाल युएसएको उपाधिका साथैं फस्ट रनर अप र सेकेण्ड रनर अपसमेत घोषित गरिने छ। अन्य विभिन्न आधा दर्जन उपशिर्ष विजेतासमेत छानिने इप्लानेट नेपालका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए।