भारत झारखण्डको हजारीबाग शहरमा एक व्यवसायी परिवारका ६ जनाले आत्महत्या गरेका छन् । प्रहरीले उनीहरुको घरभित्रबाट सुसाइड नोट पनि बरामद गरेको छ । सबै सुसाइड नोट रातो रंगको खाममा राखिएका थिए ।
हजारीबागका प्रहरी उपमहानिरीक्षक पंकज कम्बोजले सबै शव अलग–अलग प्राप्त भएको र पोष्टमार्टका लागि अस्पताल लगिएको जनाएका छन् । उनले पोस्टमार्टम रिपोर्ट पर्खिरहेको जनाएका छन् । सुसाइड नोटमा आफुहरुले स्वेच्छाले आत्महत्या गरेको उल्लेख छ । यसका साथै बच्चालाई झुुण्डयाउन नसकेकाले हत्या गरिएको पनि सुसाइड नोटमा लेखिएको छ । त्यो कसको अक्षर हो भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीले विस्तृत अनुसन्धानका लागि एक विशेष अनुसन्धान समिति पनि गठन गरेको छ भने पोष्टमार्टमका लागि डाक्टरको बोर्ड पनि बनाएको छ ।
प्रारम्भिक छानबिनअनुसार हजारीबागको केबी सहाय मार्ग घर भएका ७० वर्षीय महावीर माहेश्वरीको ड्राई फ्रुुट्सको व्यापार थियो । व्यवसायमा ठुलो रकम फसेको थियो । त्यहीकारण परिवार चिन्तित थियो । आइतबार बिहान महावीरका छोरा नरेशको शव अपार्टमेन्टको तल फेला परेको थियो । शव देखेर उनीहरु बसेको फ्ल्याटमा पुुगेका आफन्तहरुले महावीर र उनकी पत्नी किरणलाई झुण्डिरहेको देखेका थिए ।
नरेशकी पत्नी प्रिती, उनीहरुका १० वर्षीय छोरा अमन र ८ वर्षकी छोरी अन्वीको शव पलंग र सोफामा फेला परेको थियो । दुवै बालबालिका हजारीबागको प्रतिष्ठित स्कुलमा पढ्थे । प्रहरीका अनुसार फ्ल्याटभित्र बेहोस गर्ने एक रासायनिक पदार्थ इथरको बोत्तल पनि फेला परेको छ ।