कुवेतमा हृदयघातका कारण एक नेपालीकाे मृत्यु भएकाे छ। दुर्इ वर्षदेखि कुवेतमा गार्डेनरकाे रूपमा कार्यरत कास्की लेखनाथ नगरपालिका-२९, भाडारिकका ३६ वर्षीय दुर्गाबहादुर तामाङको हृदयघातका कारण मृत्यु भएको हाे।
दुर्गाबहादुर अल तकदम रियलस्टेट कम्पनीमार्फत कुवेतको अल्गानियम कम्पनीमा गार्डेनरकाे रूपमा कार्यरत थिए। जनजागृति युवा समाज कुवेतका कोष संयोजक रामबहादुर योञ्जन तामाङका अनुसार तामाङ शनिबार बिहानको काम सकेर करिब १२ बजेतिर खाना खान कम्पनीकै कोठामा गएका थिए।
खाना खाएर सुतेका दुर्गा नउठेपछि साथीहरुले कोठामा हेर्दा उनी मृत फेला परेका थिए। तत्काल कम्पनीले प्रहरीको सहयोगमा अस्पताल पुर्याएको थियो। घर छुट्टीमा जाने तयारीमा रहेका दुर्गाको घरमा एक छोरा मात्र रहेका छन्।
नेपाली दूतावास कुवेतका द्वितीय सचिव ज्ञानबहादुर मगरले दुर्गाबहादुरको हृदयघातबाट मृत्यु भएको प्रारम्भिक जानकारी आएपनि पूर्ण विवरण आउन बाँकी रहेको बताए। कानुनी प्रक्रियाका लागि उनको शवलाई फर्वानिया अस्पातलमा राखिएको छ। कम्पनीका प्रतिनिधिले तामाङकाे शव नेपाल पठाउन आवश्यक सहयोग गरिरहेको बताइएको छ।