अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घटाउने भएको छ। भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप दुई सय डलर नलिने भएको हो। गृह मन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए। अब १६० डलर मात्रै तिर्नुपर्ने गरी समझदारी भएको छ।
‘अमेरिकाले भिसा प्रोसेसिङका लागि लिँदै आएको थप दुई सय डलर हटाउन आग्रह गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, ‘यसमा अमेरिकी पक्ष सकारात्मक छ।’ पटक–पटक भएको छलफलमा अमेरिकी अधिकारीहरू अतिरिक्त शुल्क हटाउन सहमत भएपछि नै भिसा पारस्पारिकतासम्बन्धी प्रस्ताव अघि बढाइएको गृह मन्त्रालय स्रोत बताउँछ। अमेरिका शुल्क घटाउन तयार भएपछि नै प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको हो।
अमेरिकाले अध्ययनका लागि भिसा प्रक्रियामा सहभागी नेपाली विद्यार्थीसँग भिसा नलागे पनि तीन सय ६० डलर लिँदै आएको छ। पारस्पारिकतापछि ठूलो राहत मिल्ने गृहका अधिकारी बताउँछन्।
त्यस्तै, पर्यटक भिसामा जानेहरूले दुई सय २० डलर तिर्दै आएका छन्। भिसा पारस्पारिकतापछि उनीहरूले एक सय ६० डलर मात्र तिरे पुग्छ।
हाल नेपालमा कुनै पनि देशको पर्यटक एक वर्षमा बढीमा पाँच महिना मात्र बस्न पाउँछन्। तर, भिसा पारस्पारिकतापछि अमेरिकी नागरिकहरू भने ६ महिनासम्म बस्न पाउँछन्। अमेरिकाले पनि पर्यटक भिसामा एक वर्षमा ६ महिना बस्न दिने सहमति जनाएको छ। नयाँ पत्रिका दैनिकमा खबर छ।