नेपाली श्रमिकका लागि आकर्षक गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियामा एक दशकको अवधिमा झण्डै ६० हजार नेपालीले रोजगारीको अवसर प्राप्त गरेका छन् ।
सन् २००८ देखि दक्षिण कोरियाले रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली कामदारलाई कोरियाको श्रम बजारमा रोजगार अनुमति प्रदान गर्दै आएको थियो । एक दशकको अवधिमा तीन हजार ४८७ महिलासहित ५८ हजार ७०९ नेपाली युवाले कोरियामा रोजगारीको अवसर प्राप्त गरेका वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले जनाएको छ ।
सन् २००८ देखि २०१८ सम्म सञ्चालित भाषा परीक्षामा झण्डै पाँच लाख युवाले सहभागिता जनाएका थिए । विभिन्न चरणमा सम्पन्न कोरिया भाषा परीक्षामा चार लाख ८३ हजार ४९ युवाले सहभागिता जनाएको शाखाको तथ्याङ्कमा उल्लेख छ । भाषा परीक्षामा सहभागी हुने युवाको उल्लेख्य सहभागिताले दक्षिण कोरिया नेपालीको आकर्षक श्रम गन्तव्य ठहरिएको पुष्टि हुन्छ । एक दशकका अवधिमा ७० हजार ४६९ जनाले भाषा परीक्षा उतीर्ण गरेपनि ६९ हजार ९८ जनाले मात्र रोजगार आवेदन फारम भरेका थिए ।
सन् २००८ देखि नै कोरियाले कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ । सन् २०१९ मा कोरिया सरकरले यसअघिभन्दा बढी आप्रवासी कामदार भित्र्याउने घोषणा गरेसँगै नेपाली कामदारको माग पनि बढ्न सक्ने वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले बताए । अन्य मुलुकको तुलनामा आकर्षक सेवा सुविधाका कारण पनि दक्षिण कोरिया नेपाली युवाको आकर्षक श्रम गन्तव्यमा परेको हाे ।
१६० नेपालीको मृत्यु
सन् २००७ देखि हालसम्म विभिन्न कारणबाट १६० नेपालीको मृत्यु भइसकेको छ । डिप्रेशनका कारण आत्महत्या, औद्योगिक तथा सडक दुर्घटना र सुतेकै अवस्थामा नेपालीले ज्यान गुमाउँदै आएका पनि छन् ।
सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले करार अवधिमा एक पटक कामदारले परिवार लैजान सक्ने व्यवस्थापछि आत्महत्याको घटनामा कमी आउने विश्वास व्यक्त गरे ।
मानसिक तनाव, कामको चाप, खानपिन, हावापानीलगायत कारणबाट कोरियामा मृत्यु हुने नेपालीको सङ्ख्या बढ्दै गएको छ, उनले भने, “कोरियामा काम गर्ने नेपालीमा डिप्रेसनको अवस्था भयावह छ, कडा काम, रोजगारदाताको कामप्रतिको कडाई, परिवारको चाहनालगायत कारणबाट नेपालीमा मानसिक रोग देखापरेको छ । यसबाट आत्महत्याको घटनामा समेत वृद्धि भएको हुनसक्छ ।” रासस