अल्जेरियासँगको ट्यूनिसियाली सीमा क्षेत्रमा आइतबार आतंककारी आक्रमण हुँदा ६ सैनिकको मृत्यु भएको छ ।
ऐन सुल्तान क्षेत्रमा सीमा क्षेत्रको गस्तीमा तैनाथ सुरक्षा गार्डलाई लक्षित गरी जमिनमुनि विछ्याइएको विद्युतीय धराप विष्फोट गराउँदा ६ जनाको मृत्यु भएको ट्युनिसियाली गृहमन्त्रालयले जनाएको छ । यस अघि उक्त घटनामा आठ जनाको मृत्यु भएको बताइएको थियो ।
स्थानीय समय अनुसार बिहान ११ः४५ बजे भएको विष्फोटपछि आक्रमणकारीले सुरक्षाकर्मीमाथि गोलीसमेत चलाएका थिए ।
मन्त्रालयका प्रवक्ता जनरल सुफयान अल–जाकले आक्रमण आतङ्ककारी हमला भएको जनाउँदै ट्यूनिसियामा पर्यटनका लागि अनुकुल मौसम मानिने समयमा भएको हमलाको कुनै समूहले जिम्मेवारी भने नलिएको बताए ।
सरकारले सन् २०१५ को नोभेम्बरदेखि उक्त मुलुकमा संकटकाल घोषणा गरेको थियो । सन् २०१५ मा इस्लामिक समूहले जिम्मा लिएको एक विष्फोटमा परी राष्ट्रपतिका १२ जना सुरक्षा गार्डको निधन भएपछि सङ्कटकालको घोषणा भएको हो ।