युरोपको बिभिन्न देश तथा शहरमा आयोजना भइरहेको ‘४६ औं अन्तर्राष्ट्रिय सांस्कृतिक मेला २०१८’ मा नेपालले पनि सहभागिता जनाएको छ। जुलाई १३ देखि अगष्ट २७ सम्म आयोजना हुने मेलाका लागि २० जना कलाकारहरुको एक जम्बो टोली अहिले फ्रान्स पुगेको छ।
‘नेपाल लोक तथा साँस्कृतिक प्रतिष्ठानको’ नेतृत्वमा कलाकार टोली फ्रान्स पुगेको हो। यो टोलीले फ्रान्सको मोन्तुवा, लुप्युभिले, पेल्तान लगायतका केही स्थानमा कार्यक्रम सम्पन्न गरिसकेका छन्। विश्वव्यापी कार्यक्रम अन्तर्गत युरोप पुगेको यो टोलीले फ्रान्सपछि टर्की, बेल्जियम लगायतका देशका विभिन्न शहरमा कार्यक्रम गर्नेछ।
लोप हुन लागेका कला, संस्कृति, भेषभुषा, परम्परा, लोक गीत, लोक बाजा आदिको जगेर्ना गर्ने उदेश्यले कार्यक्रम लिएर कलाकारसहित युरोप पुगेको कार्यक्रम संयोजक तथा नेपाल लोक तथा साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष जोगेन्द्र केसीले बताए। विश्वका २२ देशका कलाकार सहभागी यो फेष्टिभल फ्रान्स, बेल्जियम, टर्कीका विभिन्न शहरमा आयोजना हुनेछ। नेपालबाट सहभागी कलाकार टोलीका संयोजक जोगेन्द्र केसी, कार्यक्रमको सल्लाहकार संगीतकार सुरेश अधिकारी, कार्यक्रमका प्रमुख गायक शिवराज पौडेललगात छन्।
कार्यक्रममा पूर्वको हापारे, अरुण उपत्यकाको गीत संगीत, मध्यमाञ्चलको घासे भाका, नेवारी, काठे भाका, पश्चिमाञ्चलको सालैजो, कौरा, मध्यपश्चिमाञ्चलको टप्पा, ठाडो भाका, मारुनी, सुदूरपश्चिमाञ्चलको देउडा, ठाडी भाकाको साथमा थारु, धिमे, लाखे, सेलो, कुमारी, मन्जु श्री, झाँक्रीलगायतका गीत तथा नृत्य प्रस्तुत गरिने कार्यक्रमका संयोजक केसीले जानकारी दिए।