आज (शनिबार) पनि मुलुकभर ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ ।
दोस्रो चरणको राष्ट्रिय ‘भिटामिन ए’अभियान अन्तर्गत ७७ जिल्लामा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।
कर्मचारी समायोजनले स्वास्थ्यकर्मी अन्योलमा परे पनि खोप कार्यक्रम भने प्रभावित नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पहिलो चरणअन्तर्गत यसअघि ‘भिटामिन ए’ र जुकाको औषधि खुवाएका बालबालिकालाई यसपटक पनि खुवाउनुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशैभर तोकिएका केन्द्रमा भिटामिन ‘ए’ जुकाको औषधी खुवाउने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ । यसका लागि स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ ।
भिटामिन ए ले बालबालिकामा पोषणसँगै स्वास्थ्य राम्रो राख्न तथा विभिन्न रोगसँग लड्ने क्षमता बढाउन मद्त गर्छ । भिटामिन ए को कमीले बालबालिकाको आँखाको दृष्टि कमजोर हुने, शारीरिक बृद्धि राम्रोसँग नहुने, पछि प्रजनन् स्वास्थ्यमा समस्या देखिन सक्छ । स्वास्थ्य मन्त्रालयले हरेक ६/६ महिनामा वालवालिकालाई भिटामिन ए क्याप्सुल तथा जुकाको औषधि निशुल्क खुवाउने गर्छ । यसअघि हिजो (शुक्रबार) पनि मुलुकभर ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइएको थियो ।