ढाड दुख्ने विरामीमध्ये ६० प्रतिशत महिलाहरुमा पाठेघरको समस्या रहने गरेको भेटिएको छ । अल्का अस्पताल र एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले लमजुङको सुन्दरबजारमा गरेको निशुल्क स्वास्थ्य शिविरमा स्त्री रोग बिशेषज्ञ डाक्टर नुतन शर्माले ढाड दुख्ने विरामीहरुमध्ये ६० प्रतिशत महिलाहरुमा पाठेघरको समस्या रहने गरेको पाइएको जानकारी दिइन् ।
सुन्दरबजारमा २ सय १५ जनाभन्दा बढीको स्वास्थ्य जाँच गरिएकोमा २ जनामा मात्र पाठेघरको समस्या थिएन । बाँकी सबैको पाठेघरमा घाउ देखिएको डाक्टर शर्माले जानकारी दिइन् । त्यसमा १५ जना जति महिलाहरुको पाठेघरमा जटिल प्रकारको घाउ देखिएको थियो । 'जाँचका क्रममा सानो र ठूलो गरी सबैको पाठेघरमा घाउ देखिएको छ,' डाक्टर शर्माले भनिन् । गाउँघरमा जनचेतनाको कमीका कारण नै उनीहरुको पाठेघरमा घाउ भएको डाक्टर शर्माले बताइन् ।
शर्माका अनुसार निरन्तर ढाड दुख्ने, तल्लो पेट दुख्ने, पिसाव पोल्ने, योनीबाट फोहर पानीबग्ने, बगेको पानी धेरै गन्हाउने, योनीचिलाउने पाठेघरको क्यान्सरको लक्षणहरु हुन् । ढाड दुख्यो भनेर पेनकिलर खाने, नशा सम्बन्धि डाक्टरलाई देखाउने धेरै पाइएको छ, डाक्टर शर्माले भनिन् त्यो पाठेघरको क्यान्सरको लक्षण हो। त्यसैले नजिकको अस्पतालमा गएर पाठेघरको जाँच गर्नुपर्छ।
पाठेघरको घाउ संक्रमण भएर नै पाठेघरको क्यान्सर हुने हो । यसलाई रोक्न सकिने चिकित्सकहरुले बताएका छन् । पाठेघरमा रोग लाग्न नदिन खानपिनमा ध्यान दिनुपर्ने डाक्टर शर्माले बताइन्। नेपालीले खाने खानामा बढी कार्बोहाइटेड मात्र हुने र प्रोटिन चाहिने उनले बताइन्। अण्डा, माछा, मासु ,गेडागुडी, दही, पनिरमा बढी प्रोटिन हुने उनले बताइन् ।
महिनावारी भएको बेला प्याड प्रयोग गर्नुपर्ने र प्याड चार-चार घण्टामा फेर्नुपर्ने उनले बताइन् । गाउँघरमा महिनावारी हुदाँ कपडाहरु राख्ने हुँदा त्यसले संक्रमण झन् बढाउने डाक्टर शर्माले बताइन् ।