यो पाउरोटीलाई नियालेर हेर्नुभयो भने बजारमा पाउने अरुभन्दा फरक पाउनुहुन्न । तर यो साधारण पाउरोटी होइन । यो साङलोबाट बनेको पाउरोटी हो ।
अर्थात् सुकाइएका साङलाका धुलो मैदामा मिसाएर बनाइएको हो यो पाउरोटी।
कसरी बन्यो त ?
यसलाई तयार गरेका हुन् ब्राजिली अनुसन्धानकर्ताहरुले, जो संसारमा आउन सक्ने खानाको कमीको सामना गर्न जनावरको प्रोटीनयुक्त पौष्टिक खानाको खोजीमा छन्।
संयुक्त राष्ट्रसंघको एक तथ्यांकअनुसार सन् २०५० सम्ममा विश्वको जनसंख्या ९.७ अर्ब हुनेछ । जनसंख्या वृद्धिसँगै खाद्यान्नको कमी भएका कारण खानाका किरा समावेश गर्ने समय आएको अनुसन्धानकर्ताको भनाइ छ । यो सजिलै पाइन्छ, प्रोटीनयुक्त छ र सस्तो पनि ।
दक्षिण–पूर्व एशियाका कयौं भागमा यो साङलो खानाको अभिन्न अंग बनिसकेको छ।
तर तस्बिरमा देखिएको पाउरोटी हाम्रो भान्सामा देखिए जस्तो साङलोबाट बनेको चाहिँ होइन । यो खास किसिमको प्रजाति हो, जसलाई ‘लोकष्ट कक्रोच’ (नोफिटा सिनेरा) भनिन्छ, यो साङलो उत्तर अफ्रिकामा पाइन्छ । यो सजिलै बढ्छ र प्रजननदर पनि बढी छ ।
तर, प्रश्न उठ्छ– विश्वमा हजारौं किरा छन्। तर खानका लागि साङलो नै किन ?
यसको मुख्य कारण हो– प्रोटीनका लागि रातो मासुभन्दा पनि राम्रो हो । रातो मासुमा प्रोटीन ५० प्रतिशत हुन्छ भने यो साङलोमा ७० प्रतिशत हुन्छ । साङलो हजारौं वर्षदेखि पृथ्वीमा रहेको मानिन्छ ।
दक्षिण ब्राजिलको फेडरल युनिभर्सिटी अफ रियो ग्रान्डका फुड इन्जिनियर आन्द्रीसा जेन्तजेन भन्छिन्, ‘वातावरणमा घुल्न र लाखौं वर्षसम्म जिउँदो रहनका लागि साङलोले निश्चित मात्रामा खास गुण अपनाएका होलान् ।’
खाद्य इन्जिनियर लरेन मेनेगेनसँग मिलेर जेन्तजेनले साङलोलाई सुकाइन् र त्यसको पीठो बनाउन सफल भइन् । यो पीठोको मूल्य प्रतिकिलो ५१ डलर राखियो । तर पाउरोटी बनाउन साङलोको पीठोको मात्रा १० प्रतिशत प्रयोग गरियो, जसलाई साधारण गहुको आँटामा मिसाइयो । थोरैमात्रामा पनि यसलाई मिलाउँदा गहुँको पीठोमा प्रोटीन १३३ प्रतिशत बढ्यो । अनुसन्धानकर्ताका अनुसार यसमा तेलको मात्रा ६८ प्रतिशत काम गर्न पनि सकिन्छ । तर स्वाद भने साधारण पाउरोटीजस्तै हुन्छ । तर केहीलाई भने यसको गन्ध बदामको जस्तो आउने अनुसन्धानकर्ताको भनाइ छ ।
पोषणका प्राध्यापक इनो भियराका अनुसार मानिसले खानामा थुप्रै किरा समावेश गर्न सक्छन् । जस्तो, कमिला, रेशम किरा, बिच्छी आदि ।
तर कतिपय मुलुकमा किरालाई खानामा समावेश गर्न नसक्नुमा सांस्कृतिक समस्या छ ।
एक किलो मासु उत्पादन गर्न २५० वर्गमिटर जमीन चाहिन्छ । तर त्यही परिमाणको किरा पाल्न ३० वर्गमिटर भए पुग्छ । साथै पानी पनि बचत हुन्छ । एक किलो किराका लागि १ हजार लिटर भए पुग्छ भने त्यति नै मासु उत्पादन गर्न २० हजार लिटर पानी चाहिन्छ ।
ब्राजिलको किरा प्रजनन संघका अनुसार खानामा समावेश गर्न सकिने किराका सबैभन्दा धेरै प्रजाति (९५ प्रजाति) यहाँ पाइन्छ ।
राष्ट्रसंघको एक अनुमानअनुसार विश्वभरका करिब २ अर्ब मानिस खानामा किरा समावेश गर्छन् । अन्सन्धानकर्ताहरु लरेन मेनेगन र जेन्तजेन किराबाट केक, हेल्थ बार र तेल बनाउने कार्यमा काम गरिरहेका छन् । साङलोबाट पाउरोटी बनाइएपनि यो बजारसम्म पुग्न पाएको छैन । ब्राजिलका खाद्य सुरक्षा अधिकारीले यसलाई खाने इजाजत दिइसकेका छैनन् ।
स्पेन, बेलायतजस्ता देश किराबाट बनेका खानालाई बढावा दिइरहेका छन् । त्यहाँका सुपरस्टोरमा लार्भाबाट बनाइएका स्न्याक्स पाइन्छ । बेलायतमा भुटेका किरा निर्यात गरिन्छ ।
अब चाख्न तयार हुनुहुन्छ साङलोबाट बनेका पाउरोटी ?
बीबीसीबाट