चिनियाँ प्रविधि कम्पनी ह्वावेईका संस्थापक रेन जेङ्फीले ह्वावेईका मोबाइल फोनहरूको अन्तर्राष्ट्रिय बिक्री गत महिना ४० प्रतिशतले घटेको बताएका छन् ।
अमेरिकासँग उक्त कम्पनीको बढेको तनावबीच कम्पनीका संस्थापकले त्यसो बताएका हुन् । कम्पनीको मुख्यालयमा बोल्दै रेनले आफ्ना उत्पादनमा वार्षिक ३० अर्ब अमेरिकी डलरले कटौती गर्ने बताए ।
नयाँ अमेरिकी कानुनहरूका अनुसार अमेरिकी वा अमेरिकी प्रविधि प्रयोग गर्ने कम्पनीहरूले ह्वावेईसँग काम गर्न पाउने छैनन् । दूरसञ्चार उपकरण उत्पादन गर्ने विश्वको सबैभन्दा ठूलो र र स्मार्टफोनको दोस्रो ठुलो उत्पादनकर्ता ह्वावेईले सुरक्षा जोखिम सिर्जना गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ ।
ह्वावेईले भने त्यसलाई अस्वीकार गर्दै आरोप लगाइए जसरी आफ्नो सूचना प्रणालीमा चीन सरकारको नियन्त्रण नहुने बताएको छ ।
कटौती
सन् २०१९ र २०२० मा उसको विक्री एक सय अर्ब डलरमा सीमित हुने अपेक्षा गरिएको बीबीसीले उल्लेख गरेको छ । यसअघि ह्वावेईले सन् २०१९ मा विक्रीको प्रक्षेपण झन्डै १२५ अर्ब डलर बराबरको गरेको थियो ।
यद्यपि सन् २०२१ सम्ममा कम्पनी आफ्नो पुरानै ऊर्जासाथ ब्युँतने रेनले बताएका छन् । स्मार्टफोनको विक्री विश्वभर उल्लेख्य रूपमा घटे पनि, चीनमा त्यो निकै बढिरहेको उनको भनाइ थियो ।
फेरिएको भनाई
यसअघि भने उनले अमेरिकी प्रतिबन्धले ह्वावेईलाई ठूलो असर नपार्ने बताउँदै आएका थिए ।
आफ्नो कम्पनीलाई निकै नराम्ररी बिग्रिएको हवाईजहाजसँग तुलना गरेका उनले कम्पनीको अनुसन्धान तथा विकासतर्फको रकम भने कटौती नगर्ने बताए । अमेरिकाले लिएको पछिल्ला कदमका कारण विश्वभरका प्रविधि कम्पनीहरू ह्वावेईसँगको सम्बन्धमा पछाडि हट्न बाध्य भएका थिए ।
ब्रिटेनले भने ह्वावेईमाथि अहिलेसम्म कुनै औपचारिक प्रतिबन्ध लगाएको छैन ।