सोनी कम्पनीले सन् १९९० को दशकको अन्त्यतिर निकै लोकप्रिय रहेको रोबोट कुकुर ‘आइबो’ आगामी सेप्टेम्बरदेखि अमेरिकी बजारमा पुनः ल्याउने भएको छ । १९९९ मा पहिलोपटक जापानी बजारमा ल्याइएको आइबोको उत्पादन २००६ पछि बन्द गरिएको थियो ।
११ वर्षपछि सन् २०१७ को नोभेम्बरमा सोनीले आइबोको नयाँ जेनेरेशन ल्याउने घोषणा गरेको थियो । त्यसअनुसार जनवरी २०१८ मा आइबोको चौथो जेनेरेशन इआरएस–१००० ल्याएको हो । सोनीले जापानमा यसको बिक्री सुरु गरेको सात महिनामा २० हजारवटा बिक्री गरिसकेको छ । जापानमा यसको मूल्य १ लाख ९८ हजार जापानी येन छ भने अमेरिकामा चाहिँ २ हजार ८ सय ९९ डलर हुनेछ । यति रकम तिरेवापत् ग्राहकले माइ आइबो एप, केही खेलौना, चार्जिङ स्टेशनलगायतका सामग्री पनि पाउनेछन् ।
आइबोमा टच सेन्सर छ भने आफ्नो मालिक पहिचान गर्न सक्ने फेसियल रेकग्निसन राखिएको छ । यस्तै, सोनीले यसमा घरको संरचना सम्झन सक्ने क्यामेरा म्यापिङ पनि राखेको छ । यसले आवाजको निर्देशनको जवाफ दिने क्षमता पनि राख्छ । ‘माई आइबो’ मोबाइल एपद्वारा यो रोबोट कुकुरलाई नयाँ–नयाँ तरिका पनि सिकाउन सकिन्छ ।
आइबोको ४ जीवी र्याम र ३२ जीबी रोम मेमोरी छ । यसमा स्न्यापड्रागन ८२० प्रोसेसर राखिएको छ । यसमा राखिएका हार्डवेयरले यसले क्यामराबाट देखेका सबै चिजलाई बुझ्न सक्ने बनाइएको छ ।
यो स्मार्ट कुकुरलाई अन्य मुलुकमा पनि बिक्री गर्ने योजना सोनीले बनाएको छ । यसले इलेक्ट्रोनिक बजारमा गुमेको बजार पुनः कायम गर्ने विश्वास सोनीले लिएको छ ।