अन्तरिक्षमा पृथ्वीमा जस्तो गुरुत्वाकर्षण हुँदैंन। त्यसकारण मानिससमेत हावामा तैरन्छन्। यस्तो अवस्थामा अन्तरिक्षमा गएका व्यक्तिले कसरी शौच गर्छन् होला ? स्पेस सटल यानभित्र कुनै बेसिन या सावर हुँदैन, बरु शौचालय भने हुन्छ।
कसरी शौच गर्छन् ?
शौचालय १ वर्गमिटर ९१ मि गुणा १ मि० को हुन्छ। महिला तथा पुरुषका लागि एउटै शौचालय हुन्छ। शौचालय थोरै फरक भए पनि पृथ्वीमा हुनेजस्तै पश्चिमी शैलीको हुन्छ। शौच गर्दा अन्तरिक्ष यात्रीले कमोडमा आफूलाई बाँध्छन्, ताकि आफू हावामा तैरन नपरोस्। दिसापिसाब सुकाउन भ्याकुम क्लिनरजस्तो उपकरण प्रयोग गरिन्छ। शौचालयमा ढोका हुँदैंन, पर्दामात्र राखिएको हुन्छ। शौच गर्दाको आवाज बाहिरसम्म सुनिन सक्ने भएपनि बाहिरको एयरकण्डिसन, मोटर तथा अन्य उपकरणका आवाजले सुन्ने सम्भावना हुँदैंन।
के खान्छन् ?
सन् १९६० को सुरुमा अन्तरिक्षमा खान मिल्ने आकारको अथवा आल्मुनियमको ट्युबमा राखिएका खाना प्रयोग हुन्थे। खाना यस्तरी तयार पारिन्थ्यो कि तिनीहरू गर्हौं नहुन्। सन् १९७० को अपोलो समयदेखि अन्तरिक्षमा लगिने खानाको प्रकारमा वृद्धि हुन थाले। अहिले विभिन्न १ सय ५० प्रकारका खाना अन्तरिक्षमा लग्ने गरिन्छ। खाना पृथ्वीमा खानेजस्तै हुन्छन्। ती खाना प्लास्टिक कन्टेनरमा राखिन्छन्। केही खानामा चिसो या तातो पानी प्रयोग गरेर खानलायक बनाइन्छन् भने अन्य ओभनमा तताइन्छन्। फलफुल, ब्रेड र बदामहरू जस्ताको तस्तै खाइन्छ। पेयपदार्थ खान नलीको प्रयोग गरिन्छ। यसबाट तरल पदार्थ पोखिएर मेसिनहरू बिग्रने सम्भावना रहँदैन। इन्टरनेसनल स्पेस स्टेशनको मेनुमा ३ सय प्रकारका खाना राख्ने तयारी भइरहेको छ।
कसरी सुत्छन् अन्तरिक्षयात्री ?
अन्तरिक्षमा सुत्न सानो खाल्डोजस्तो ठाउँ हुन्छ, जहाँ अन्तरिक्षयात्रीहरू स्लिपिङ ब्यागमा सुुत्छन्। सुत्दा शरीर हावामा नतैरियोस् भनेर बेल्टले बाँधिन्छ। शून्य गुरुत्वाकर्षण हुने भएकाले त्यहाँ तल, माथि भन्ने केही हुदैंन। कुनै पनि दिशामा सुत्छन्। मेसिनहरूको आवाजका कारण सुत्न नसक्नेहरूका लागि यानमा आँखा तथा कान छोप्ने वस्तुको पनि सुविधा हुन्छ। सुत्ने समय ८ घन्टाका लागि छुट्याइएको हुन्छ। तर, अधिकांश रूपमा उनीहरु ६ घन्टा सुत्छन्। यस्तै, अन्तरिक्षयात्रीहरू अधिकांश समय यानको झ्यालबाट बाहिर हेर्न मन पराउछन्।
बिरामी पर्दा के गरिन्छ ?
स्पेस सटलमा हरेक अन्तरिक्षयात्रीलाई कुनै न कुनै विशेष भूमिका दिइएको हुन्छ र हरेकले विशेष कार्यका लागि आवश्यक तालिम पाएका हुन्छन्। मेडिकल इमर्जेन्सीका लागि पनि क्रु मेडिकल अफिसर हुन्छन्। मेडिकल अफिसरले प्राथमिक उपचार गर्नेमात्र नभई घाउमा टाँचा लगाउने र इन्जेक्सन पनि दिन्छन्। सबै यात्रीलाई हृदयाघात भएमा के गर्ने भनेर तालिम पनि दिइएको हुन्छ। यानमा मेडिकल किट पनि हुन्छ, जसमा सामान्य बिरामी भएको या घाइते भएको अवस्थामा उपचार गर्ने सामग्री हुन्छन्।
फुर्सदको समय के गर्छन् ?
अन्तरिक्षयात्रीहरूले फुर्सदको समय आफ्नो मन पर्ने पुस्तक पढ्ने, गीत सुन्ने र यानको झ्यालबाट पृथ्वीतिर हेर्ने गरेर बिताउँछन्। केहीले भने पृथ्वीतिर देखिने सुन्दर तस्बिर लिन्छन्। उनीहरू डिभिडी र फिल्म पनि हेर्छन् र साताको एक दिन परिवारसँग कुरा गर्छन्।
नुहाउँछन् होला ?
गुरुत्वाकर्षण नभएको ठाउँमा पानी बग्दैन, त्यसैले अन्तरिक्षयात्रीहरूले हात धुदैंनन् त्यसैले अन्तरिक्ष यानमा सावर हुँदैंन। जब हात या अनुहार धुन मन लाग्छ, उनीहरू तरल साबुन भएको अल्कोहल या चिसो टाबेल प्रयोग गर्छन्। यस्तै, पानी नभएको सेम्पुले कपाल सफा गर्छन्। यस्तो सेम्पुमा फिज आउदैंन, जसले गर्दा यानभित्र पोखिने सम्भावना पनि हुदैंन। शरीर सफा गर्न भने बडी सेम्पु भएको चिसो टावेलल पुच्छन्।