क्यारेबियन मुलुक क्युबामा पहिलोपटक मोबाइल इन्टरनेट सन्चालनमा ल्याइएको छ । सरकारी टेलिकम इटेक्साले गत सातादेखि थ्रिजी मोबाइल सेवा सुरु गरेपछि सर्वसाधारणको पहुँचमा इन्टरनेट आएको हो ।
यसअघि सर्वसाधारणले इन्टरनेटका लागि वाईफाई हटस्पट र इन्टरनेट क्याफेमा भर पर्नुपथ्र्यो भने सरकारी पत्रकार र विदेशी व्यापारीलाई थ्रिजी सेवा प्रयोगमा प्रतिबन्ध थियो । पर्यटकीय होटल र सरकारी क्लबमा मात्र इन्टरनेट खुला गरिएको थियो । थ्रिजी मोबाइल सेवा सुरुपछि सरकारले इन्टरनेटमा लगाउँदंै आएको प्रतिबन्ध लचिलो हुने अपेक्षा गरिएको छ ।
सन् २०१३ मा क्युबामा सरकारले इन्टरनेट क्याफे सन्चालनमा ल्याएर इन्टरनेट सरकारी नियन्त्रणमै रहने संकेत दिएको थियो । २०१४ मा सरकारले मोबाइल कम्पनीहरुलाई सरकारी इमेल सेवामा पहुँचको स्वीकृति दिएको थियो । यस्तै, २०१५ मा पहिलोपटक वाईफाई हटस्टप सन्चालन गरिएको थियो । त्यसयता १२ सय स्थानमा वाई हटस्पट सन्चालन गरिएको छ भने ६७० सरकारी इन्टरनेट क्याफे छन् । २०१७ मा इटेक्साले निश्चित संख्यामा सर्वसाधारणका लागि सेवा दिन थालेको हो ।
तर मोबाइल थ्रिजी सेवा भने निकै महंगो छ । ४ जीबी डाटा प्याकेजलाई ३० डलर तोकिएको छ । जबकि यो भनेको क्युबालीहरुको एक महिनाको तलब बराबर हो । सरकारी तथ्यांकअनुसार क्युबाको कूल जनसंख्या १ करोड १२ लाखमध्ये ५३ लाख मोबाइल प्रयोगकर्ता छन् । क्युबाले २०१६ मा गुगल कम्पनीसँग यसका सामग्रीकोछिटो पहुँचका लागि सम्झौता गरेको थियो । गत अप्रिलमा सत्तामा पुगेका राष्ट्रपति मिगुल डियाज क्यानेलले राष्ट्रसंघ साधारण सभाका साइडलाइनमा गुगल, ट्वीटर तथा एयरबीएनएबीसँग वार्ता पनि गरेका थिए ।