आवाजभन्दा दोब्बर गतिमा उडान भर्न सक्ने सुपरसोनिक विमान निर्माण हुने भएको छ । ५५ सिटे बुम सुपरसोनिक विमानको व्यवसायिक उडान सन् २०२३ सम्ममा गर्न तयारी छ । पहिले सुपरसोनिक भनिए पनि यसलाई ओभर्चर भनी नयाँ नाम दिइएको छ ।
यो विमानले लण्डनदेखि न्यूयोर्कसम्मको उडान साढे ३ घण्टामा पूरा गर्नेछ । हाल यी दुई स्थानमा उडान अवधि करिब ७ घण्टा हुने गरेको छ । सुपरसोनिक विमान निर्माणमा एप्पल कम्पनीका पूर्व प्रमुख कार्यकारी स्टीभ जब्सकी पत्नी लाउरेन पावेल जब्सको कम्पनी इमर्सन कलेक्टिभले पनि लगानी गर्नेछ ।
यसको टिकट हालका विमानका बिजनेस क्लाससरह नै हुनेछ । बुम सुपरसोनिकका संस्थापक ब्लेक स्कुलले भनेका छन्, ‘हाम्रो उद्देश्य तीब्र गतिमा सबै सहभागी हुन सक्ने गरी उडान दिनु हो ।’
कम्पनीले व्यवसायिक उडान गर्ने विमान निर्माण थाल्दैगर्दा अर्डर पनि पाउन थालेको छ । भर्जिन ग्रुप र जापान एयरलाइन्सले ३० वटा जेट अर्डर गरिसकेका छन् । ३ इन्जिन रहने यो विमान ककर्ड विमानभन्दा ३० गुणा आवाज कम रहने बताइएको छ ।