राष्ट्रिय जनता पार्टी (राजपा) एकीकरणपछिको पहिलो महाधिवेशनको तयारीमा छ । देशभर ४० जिल्लामा संगठन विस्तार गरेको यो पार्टीले १५ चैतभित्र प्रतिनिधिको संख्या टुंगो लगाउँदैछ । गत संसदीय निर्वाचनमा ६ क्षेत्रीय पार्टीहरु मिलाएर राजपा नेपाल गठन गरिएको थियो । अध्यक्ष मण्डल गठन गरेर आलोपालो संयोजकको भूमिका गर्ने सहमतिअनुसार अहिले शरतसिंह भण्डारीले राजपा नेपालको नेतृत्व गरिरहेका छन् । कुनै कारणबस महाधिवेशन सरेन भने उनकै नेतृत्वमा महाधिवेशन हुने छ । राजपा नेपालका नेता महिन्द्र राय यादवले पार्टीको अहिले सम्पूर्ण ध्यान महाविधेशनमा केन्द्रित रहेको स्पेसखबरलाई बताए । यादवसँग गरेको कुराकानीको सम्पादित अंश ।
राजपा नेपाल केमा व्यस्त छ ?
राजपा नेपालको सम्पूर्ण ध्यान महाधिवेशनका लागि केन्द्रित छ । संविधान संशोधनको मुल मुद्दा पूरा नभएको र आन्दोलनका क्रममा पक्राउ परेका बन्दीहरु अझै पनि रिहा नभएकाले बाध्य भएर सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौं ।
राजपा नेपाललाई बैकल्पिक पार्टीको रुपमा अघि बढाउन विभिन्न पार्टीसँग एकता गर्ने र संगठन विस्तारमा पनि ध्यान केन्द्रित गरेका छौं । राष्ट्रिय जनमुक्ति पार्टीबाट मानबहादुर ब्लोन समूह राजपामा आएको छ । उहाँहरुलाई पनि व्यवस्थित गरेर महाधिवेशनको काम गर्दैछौं । हामीले अहिले देशका ४० जिल्लामा संगठन विस्तार गरिसकेका छौं । अब मधेस केन्द्रित मात्रै होइनौं हामी हाम्रो संगठन हिमाल पहाड र तराईमा पुगिसकेको छ ।
राजपा नेपाल मधेशकेन्द्रित नभई राष्ट्रिय दल हुन लागेको हो ?
हामी राष्ट्रिय पार्टी नै हौं । प्रस्तावनामा पनि यो कुरा उल्लेख गरेका छौं । नाम, काम र व्यवहारले पनि राष्ट्रिय बनाउने हो । देशको स्वाधिनता, राष्ट्रिय एकता र अखण्डता कायमै राख्दै राजपा नेपालले राजनीतिक गतिविधि गर्छ । हामी विभेद र उत्पीडनमा परेका समूदायका हक हितका लागि काम गर्दै आएका छौं र आगामी दिनमा पनि गर्छौं । पहिचानको मुद्दा छाडेका देशका हरेक समूदायलाई गोलबद्ध गर्ने हाम्रो लक्ष्य छ ।
राजपा नेपालको एक वर्षे संसदीय अभ्यास कस्तो रह्यो ?
हामीले संसदमा एक वर्षमा कुनै पनि सन्तोषजनक काम गर्न सकेनौं । प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्दा उहाँहरुले संविधान संशोधनको माग पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको थियो तर त्यो पूरा हुन सकेन । त्यसैले हामीहरुले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियौं ।
संघीय समाजवादी फोरम नेपालसँगको वार्ता कहाँ पुग्यो ?
अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको नेतृत्वमा हामीले वार्ता टोली गठन गरेका छौं । टोलीले फोरमलाई वार्ताका लागि पत्राचार गरेको छ । अहिलेसम्म फोरम नेपालबाट दोस्रो पत्र आएको छ । त्यसको जवाफ हामी एक–दुई दिनमा बैठक बसेर पठाउँछौं ।
महाधिवेशन र एकता सँगसँगै गर्न सकिएला ?
महाधिवेशन नै पार्टीलाई सुदृढ बनाउने उपयुक्त माध्यम हो । शक्तिलाई एकत्रित गर्ने र संगठन बलियो बनाउने नै लक्ष्य हो । हामी संख्यामा थोरै हौंला, तर ४० जिल्लामा संगठन त बनाउन सफल भयौं नि । राजपा नेपाल ६ वटा पार्टी मिलेर गठन भएकाले ती सबै कमिटीहरुलाई व्यवस्थित गर्न जरुरी छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीसँग छलफल भएको छ ?
गिरिशचन्द्र लाल संयोजक रहेको समितिको प्रतिवेदन सार्वजनिक गर्नका लागि हामीले धेरै पटक सदनमा कुरा उठायौं । सरकारले सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि पुरा नभएपछि हामीले संसदनै अवरुद्ध गरेका थियौं । त्यसपछि सभामुखको पहलमा हामीले प्रधानमन्त्रीसँग छलफल गरेका थियौं । छलफलमा प्रधानमन्त्रीले लाल आयोगको प्रतिवेदन अध्ययन गरेर सार्वजनिक गर्ने बताउनु भएको छ ।
रेशम चौधरीको केसले सरकारसँग रिसाउनु भएको हो ?
रेशम चौधरीको केश भनेको अदालती केश हो । अदालतमा गइसकेको केश अदालतबाटै अघि बढ्ने हो । अदालतको विषयमा हामी बोल्न मिल्दैन । तर सरकारसँग हाम्रो कुरा के हो भने रेशमजीलाई जसरी संसदको सपथ गरायो, त्यतिबेला किन गरायो त भन्ने प्रश्न हो । हामीसँग रेशम चौधरीको राजनीतिक केश भनेर भन्ने उता अदालतबाट निषेध गर्ने काम भएको छ । हामीले रेशम चौधरीको केशले सरकारलाई दिएको समर्थन फिर्ता लिएका होइनौं ।
संविधान संशोधनको प्रतिबद्धता पूरा गर्छु भनिरहेको छ त सरकार ?
सरकारलाई दबाब दिन हाम्रो पार्टनर त सँगै छ नि, संघीय समाजवादी फोरम नेपाल । संविधान संशोधनको एजेण्डामा त उहाँहरुले पनि ज्ञापन पत्र बुझाउनु भएको हो । उहाँहरु पनि सरकारले संविधान संशोधन गर्छ भन्नेमा ढुक्क हुनुहुन्न् । सरकारले अघि सारेको समृद्धिको नारा सफल पार्न हामीहरुले उठाउँदै आएको संविधान संशोधनको माग पुरा हुनैपर्छ, होइन भने समृद्धिको नारा ‘कोरा’ कागज मात्रै हुने छ।